अष्ट्रेलियामा बृद्ध ४ दिनदेखि बेपत्ता




४ माघ, अष्ट्रेलिया।
अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका भुटानी मुलका नेपाली बृद्ध बिगत चारदिनदेखि बेपत्ता भएका छन् । अष्ट्रेलिया प्रहरीले उनको खोजी गरिरहेको भएपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।
मेलबर्नस्थित मेल्टन शहरमा आफ्ना छोराका साथ बस्दै आएका ७४ बर्षीय काशी अधिकारी माघे संक्रान्तिको दिन राति करिब १० बजेदेखि घर बाहिर गएका थिए । त्यसदेखि फर्किएर नआएका उनको खोजीमा परिवार, छरछिमेक र प्रहरी लागिपरेपनि अहिलेसम्म फेला पार्न नसकिएको उनका कान्छा छोरा ओम अधिकारीले जानकारी दिए । उक्त दिन साँझको ९ बजेर ४३ मिनेटमा घरबाट बाहिर निस्किएका उनको खोजी गर्दा फेला नपारेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।



भुटानबाट लखेटिएपछि शरणार्थी बनेर झापाको खुदुनाबारीमा बस्दै आएका उनी आफ्ना परिवारसहित शरणार्थी पुर्नस्थापना कार्यक्रम अन्तर्गत ५ बर्षअघि अष्ट्रेलियाको मेलबर्नमा आएका थिए । ५ छोरा र दुई छोरी भएका अधिकारीको खोजीमा अष्ट्रेलिया प्रहरीले हेलिकप्टरसमेत प्रयोग गरिरहेको छ तरपनि अहिलेसम्म उनको बारेमा केहीपनि जानकारी पाउन नसकिएको परिवारले जानकारी दिएको छ ।

सामान्यतः साँझ परेपछि सुत्ने बानी भएका आफ्ना बुबा किन र के कारणले रातिको समयमा घरबाट निस्कनुभयो आफूहरुले केही थाहा पाउन नसकेको बृद्धका छोरा अधिकारीले बताए ।
स्थानीयबाहेक करिब एक दर्जन भुटानी मुलका नेपालीको बसोबास रहेको उक्त स्थानमा उनी अत्यन्तै मिलनसार व्यक्तिका रुपमा चिनिन्छन् ।

कान्तिपुरबाट





Comments