१४ जनवरी, नयाँ दिल्ली।
भारतको नयाँ दिल्लीमा कार्यरत दुई संस्थाहरूले असहायरूलाई न्यानो लुगा र खानाहरू प्रदान गरेका छन् ।
गोर्खाहरूलाई प्रतिनिधित्व गर्ने सामाजिक संस्था, असोसिएशन फर रिसर्च अन् नन् प्रफिट अर्गनाइजेशन्स एन्ड वोल्युन्टेरी एक्टिविटि (आर्नोवा) अनि अल इन्डिया किराती खम्बु राई एसोसिएशन, दिल्ली शाखाको संयुक्त प्रयासमा सडकमा जीवन विताउने परिवारहरूलाई न्यानो लुगा र खानाहरू वितरण गरिएको हो ।
स्मरण गराइन्छ, आर्नोवाले प्रत्येक बर्ष हिउँदको समयमा सडकमा जीवन विताउने परिवारहरूलाई एकपटक न्यानो लुगा र खानेकुराहरू वितरण गर्दै आइरहेको छ। यही क्रममा यसपटक भने यसले अल इन्डिया किराती खम्बु राई एसोसिएशन, दिल्ली शाखासँग मिलेर झोपडी क्षेत्रका दुई सय विद्यार्थीहरूलाई न्यानो लुगाहरूलगायत, मोमो, पुरी अनि आलुदम वितरण गरेको छ। यो कार्य दक्षिण दिल्ली अन्तर्गत मान्डी गाउँ अवस्थित झुग्गी झोपडी क्षेत्रको प्राइमरी शिक्षा केन्द्रका विद्यार्थीहरूमाझ गरिएको हो ।
खानेकुरा अनि न्यानो लुगा प्रदान गर्नेहरूमा आर्नोवाकी मुख्य सहयोगी एवम् दिल्लीमा गोर्खा समुदायमा सामाजिक कार्य गर्न सधैं अगाडि रहने श्रीमती मिना लिम्बू, आर्नोवाकी अध्यक्ष बन्दना राई, संस्थापक सदस्य रेबेका राई, कार्यकारी सदस्य आकाश रामुदामु, मिनु गगन थापा, निमा राई, महासचिव रमेश सेवा अनि समीर राई, पूर्व अध्यक्ष प्याट्रिशिया निकोलस प्रमुख थिए।
यसैगरी अल इन्डिया किराती खम्बु राई एसोसिएशन, दिल्ली शाखाबाट महासचिव विनय राई, मन्जु राई, भक्तराज खम्बु, विजय खम्बु, मिना राई, किरण खम्बुलगायतले खाना र लुगा वितरण गरेका थिए।
यो वितरण कार्यको बेला दिल्लीका चर्चित समाजसेवीद्वय, डा. सन्जीव सिंह र श्रीमती अन्जु शर्माको पनि सहभागिता रहेको थियो। उनीहरूले न्यानो लुगा र खानेकुरा वितरण गर्ने कार्यको सराहना गरे। यसरी नै हिन्दी भाषामा पढाइने स्कूलका शिक्षकद्वय अनवर सिद्दिकी अनि सन्जीवनी चौधरीले स्कूलको दुरावस्थाको बारेमा संस्थाका कार्यकर्ताहरूलाई जानकारी गराएका थिए। त्यसपछि आफ्नो ठाउँथलोदेखि यति टाढामा आएर पनि यस्तो सामाजिक तथा मानव उपकारी कार्य गर्दै न्यानो लुगा अनि खानेकुरा वितरण गरेकोमा कृतज्ञता ज्ञापन गरेको आर्नोवाका संस्थापक अध्यक्ष रुबेन गुरूङ्गले जानकारी दिएका छन् ।
फोटो क्याप्सन - कपड़ा खाना वितरणपछि शिक्षा केन्द्रका शिक्षकहरूसँग आर्नोवा र अल इन्डिया किराती खम्बु राई एसोसिएशन, दिल्लीका कार्यकर्ताहरू ।
Comments
Post a Comment