बहु प्रतिभाका धनी बालक पंकज सापकोटा



किशोर श्रेष्ठ, उर्लाबारी।
मोरङ्ग पथरीशनिश्चरेका ८ बर्षिय बालक पंकज सापकोटा बहु प्रतिभा लिएर समाजमा चिनिँदै आएका छन् । बहुप्रतिभाका धनी बालक सापकोटाले बिभिन्न कार्यक्रममा उत्कृष्ट प्रतिभा देखाइसकेका छन् भने अहिले संस्थागत विद्यालयको गायन प्रतियोगिताको भोटिङ राउण्डमा छन् ।
"हुने बिरुवाको चिल्लोपात" भन्ने नेपाली उखान झैं उनी दिन प्रतिदिन सफलताको सिंढी चढ्दै छन् । बुवा हेमन्त र आमा भवानी सापकोटाका छोरा पंकजले साढे ३ बर्षको उमेर देखि नै गाउन थालेका र अहिले सम्ममा उनले धेरै प्रतियोगिताहरुमा भाग लिई सफलता हासिल गरिसकेका छन् । पथरीस्थित एभरेष्ट वोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्यायनरत बालक सापकोटा भविष्यमा प्राबिधिक बिषय अध्ययन गरी गायन, अभिनय, पण्डित र राष्ट्रसेवक बन्ने धोको रहेको बताउँछन् ।



यो उचाईसम्म पुर्‍याउने उनमा भएको प्रतिभाको सबैले उच्च कदर गरेका छन् । अभिनय गरेर दङ्ग पार्ने र गीत गाएर मन्त्रमुग्ध पार्ने कला छ उनमा। विद्यालयमा गरिने हरेक कृयाकलापमा सहभागि भै उत्कृष्ट नतिजासमेत ल्याउन सफल हुन गरेका पंकज बहु प्रतिभाका धनी भएको एभरेष्ट वोर्डिङ्गका प्रिन्सिपल शान्तिराम तिम्सिनाको ठम्याई छ । उनको हरेक कृयाकलापलाई मूल्यांकन गर्दा भविष्यमा अनेकौं बिलक्षण प्रतिभाहरु देखिनसक्ने सम्भावना भएको बिश्वनाथ संस्कृत विद्यालय पथरीका शिक्षक आचार्य केवलकृष्ण अधिकारी बताउँछन्।
उनले श्रीकृष्ण प्रणामी मन्दिर धरानमा भएको गीतापाठ प्रतियोगितामा प्रथम, कञ्चनजङ्गा नाट्य समूहद्वारा प्रदर्शित द्यौसीनाटकमा "संविधान"को भूमिका निभाई सकेका छन् भने हरेक बिहिबार साढे ८ बजे हिमशिखर टेलिभिजनबाट प्रशारण भई रहेको "दोबाटे" टेलिसिरियलमा बाल कलाकारको भूमिकामा देखापरिरहेका छन् ।




Comments