मोफसलबाटै अभिनयमा जम्दै मधु



सन्देश सुब्बा इङ्वा, पाँचथर।
लिम्बू जातिको मृत्यु संस्कारमा आधारित वृत्तचित्र 'द थ्रि डेज' बाट अभिनय यात्रा शुरु गरेका मधु केरुङ पछिल्लो समय व्यस्त बन्दै गएका छन् । छोटो समयमै अभिनयमा छलाङ मार्न सफल मधुले यसअघि नेपाली कथानक चलचित्र जीवन, लिम्बू भाषाको अम्लारी फुङ, हे-लुवा, तुम्याहाङ, गुरुङ संस्कृतिमा आधारित लघु चलचित्र 'तोने' लगायत आधा दर्जन म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।
कला-साहित्यको उर्वर भूमि मानिने पाँचथरको फिदिममा रहेर संघर्ष गरिरहेका मधु आफूभित्र प्रतिभा भए मोफसलमै रहेर पनि केही गर्न सकिने बताउँछन् । 'हामी अवशर र प्रविधि दुबैबाट टाढा छौं तर पनि हिम्मत हारेका छैनौं', उनले भने । शिक्षा शास्त्र संकायबाट स्नातकोत्तर अध्ययनरत मधु पाँच फिट सात इन्च अग्ला छन् । प्रत्येक महिना कलासँग सम्बन्धित केही न केही गतिविधि हुने पाँचथरमा उनी निर्माता निर्देशक मात्र होइन दर्शकको पनि पहिलो रोजाईमा पर्छन् ।



वि.सं.२०४९ सालमा पाँचथरको दुर्गम गाउँ याङनाममा बाबु स्वर्गीय ऐतराज केरुङ र आमा विष्णुमाया आङदेम्बे (केरुङ) को कोखबाट जन्मेका मधु आफू नजानिँदो गरी अभिनयमा आएको बताउँछन् । युवा पुस्ताका राम्रा गजल सर्जकको रुपमा समेत परिचित उनी अतित खोतल्छन्, 'चार वर्षअघि गाउँबाट स्नातक अध्ययनको लागि फिदिम आउँदा औपचारिक अध्ययनलाई निरन्तरता दिने, गजलले भरिएको एउटा डायरी र चर्चित गजलकार बन्नेबाहेक केही सपना थिएन मसँग ।'
अहिले नसोचेको बाटोमा आफूलाई पाउँदा दंग पर्छन् उनी । भन्छन्, 'एउटा सोच्यो अर्कै भइदिने, दुईमा दुई जोड्यो चार भनेजस्तो नहुँदो रैछ जीवनको गणित ।' अध्ययन र लेखनसँगै अभिनयलाई निरन्तरता दिने सोचमा रहेका मधु कलामा दम भए अब यसबाट बाँच्न सकिने बताउँछन् । जिल्लाभित्र र बाहिर हुने विभिन्न फेशन सो र नाटकहरुमा पनि देखिने उनी आउँदो महिना छायाङ्कन हुने इन्द्र तुम्बापोद्वारा निर्मित लिम्बू भाषाको चलचित्र 'साक्थिम' को लागि पनि अनुबन्धित भइसकेका छन् ।



Comments