भोलिबाट कोटीहोममा कर्मयोग भवन निर्माण शुरु



१५ माघ, चारपाने।
सर्समर्पण राष्ट्रिय अभियानबाट संकलन भएको रकमको लगानीमा शुक्रवारबाट कोटीहोममा कर्मयोग भवन निर्माण शुरु गरिने भएको छ ।
समर्पणका आयोजक झापाका ६८ संस्थाका प्रतिनिधिको आज विहीवार चारपानेमा भएको बैठकले इञ्जिनियर बासु पौडेलले डिजाइन गरेको नक्सा पास गर्दै निर्माण कार्य शुरु गर्ने निर्णय गरेको हो । नक्सा अनुसार निर्माण कार्य सम्पन्न गर्न १० करोड रुपैयाँ लाग्ने भएको छ । प्रारम्भमा पहिलो तलाको निर्माण सम्पन्न गरिने र त्यस तलामा छ परिवारले एकै साथ कागकिरिया गर्न सक्ने क्षमता रहने भवन निर्माण समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । संयोजक गिरीका अनुसार पहिलो तला निर्माण सम्पन्न गर्न तीन करोड रुपैयाँ लाग्ने छ । भवन आधुनिक सुविधा सहितको हुनेछ ।


गत बैशाख २६ गते कनकाई माई कोटीहोममा पहिलो पटक कनकाई संरक्षण अभियानस्वरुप समर्पण राष्ट्रिय अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमा जनही दुई हजार रुपैयाँ समर्पण गरेर पाँच हजार चार सय २१ जनाले सहभागिता जनाएका थिए । अभियान अन्तर्गत एक करोड दुई लाख ४५ हजार रुपैयाँ रकम संकलन भएको र छ लाख १२ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ ।
समर्पण राष्ट्रिय अभियानका संरक्षक झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले गत पुस २८ गते भवनको शिलान्यास गरेका थिए ।
संयोजक गिरीको अध्यक्षतामा भएको बैठकमा सहसंयोजक प्रभाखर कडरियाले भवनको योजनाबारे प्रकाश पारेका थिए । इञ्जिनियरको नक्साबारे प्राविधिक भोलाप्रसाद चौधरीले जानकारी गराएको बैठक तथा छलफलको सञ्चालन निर्माण समितिका सदस्य लीला चिमरियाले गरेका थिए ।
उक्त अवसरमा निर्माण समितिका तर्फबाट सदस्य लोकराज ढकालले धन्यवाद ज्ञापन गरेका थिए । निर्माण समितिका युवराज संग्रौला, प्रेमप्रकाश दाहाल, ओमृकष्ण विमली, नेत्र नेपाल, सुन्दरा ल्वागुन, अनुगमन समितिका सूर्य उप्रेती, अर्जुन चुडाल तथा आयोजक संस्थाका प्रतिनिधिको तर्फबाट मोहन पोखरेल, गीता दाहाल, यशोदा कार्की, नर्वदा संग्रौला, डम्बर देउजा, हरि शर्मा, हरिप्रसाद निरौला, प्रेमप्रसाद पौडेल, नारयण राजवंशी, देवीप्रसाद गिरी, डिल्लीराम सिटौला, हेम खड्का, कमलप्रसाद खरेल, दीपेन्द्र भट्टराई, रमेश पौडेल, खेम शिवाकोटी, सजेश शिवाकोटी, एकराज गिरी, सुभा सुब्बा, चन्द्रमाया सेनिहाङ, खुमराज गैरे, केदार गिरी र मुना उप्रेतीले आफ्नो धारणा तथा सुझाव राखेका थिए ।


उक्त अवसरमा कनकाई नदीको कटानबाट कोटीहोम क्षेत्रलाई बचाउनका लागि ३५ करोड रुपैयाँ लागतसहितको तटबन्ध योजना स्वीकृतिका लागि सरकारसमक्ष विशेष पहल गर्ने समेत जनाइयो ।
सहारा नेपाल साकोस मुख्य आयोजकसहित झापाका ६८ वटा संस्था आयोजक रहेको समर्पण राष्ट्रिय अभियानअन्तर्गत निर्माण गरिने कर्मयोग भवनलाई पूरा गर्न आफ्नो मन, वचन र कर्मले सहयोग गर्न भवन निर्माण समितिले सम्पूर्ण दाताहरुमा आव्हान गरेको छ ।




Comments