झापाबाट अर्का गायक उदाए




१४ माघ, दमक।
नेपाली सांगीतिक आकासमा दक्षिण पूर्वी झापाबाट अर्को एउटा नक्षत्र उदाएका छन् । झापा बालुबाडी ८ स्थायी घर भएका गायक सिमान्त सन्तोष नेपाली सांगीतिक आकासमा उदाएका नया नक्षत्र हुन् । उनको पहिलो गीत 'मेरो दिल दुखायौ के पायौ' बाट नै नेपाली सुगम संगीतका पारखीहरुले उनको स्वरलाई मन पराएका थिए । रमेश कडरीयाको शब्द र संगीतमा रहेको पहिलो गीत मेरो दिल दुखायौ परीक्षणको लागि सांगीतिक बजारमा पठाएको र उक्त गीतलाई नेपाली श्रोताहरुले अत्यन्तै मन पराई दिएकोले आफुले अरु गीत पनि रेकर्ड गर्न थालेको उनी बताउँछन् । ''म पहिलो परीक्षामा नै उत्कृष्ट अंक ल्याएर पास भएँ, त्यसैले अब यहि क्षेत्रमा लाग्ने हो", काठमाण्डौमा बसी अध्ययन र संगीतलाई पनि साथै लिएर जाँदैगरेका गायक भन्छन् ।




उचाइ नाम दिएर एउटा एल्बम निकाल्ने तयारी गरेका यी गायकले पहिलो गीतको सफलताबाट हौसिँदै 'रहन्छ जहिले सम्म.....' बोलको दोस्रो गीत पनि बजारमा ल्याइकेका छन् । बजारमा आएको छोटो समयमा नै यो दोस्रो गीतले पनि श्रोताको मन जित्न सफल भैसको छ ।
आफ्नो कामको पहिलो प्रयासबाट नै ठुलो सफलता पाएका गायक यस अर्थमा आफुलाई भाग्यमानी सम्झन्छन् । उनी भन्छन्, ''यहाँ अहिलेका धेरै स्थापित गायकहरुले पनि सुरुवातको समयमा निक्कै असफलता ब्यहोरेका उदाहरण देखिन्छन् तर मलाई सुरुकै गीतबाट श्रोताहरुले सफल बनाइदिनुभयो यस अर्थमा म निक्कै भाग्यमानी पनि रहेँछु ।"
गीत सँगसँगै उनले दुबै गीतका म्युजिक भिडियो समेत बनाइसकेका छन् । भन्छन्, ''अहिले गीत सुन्ने मात्र नभएर हेर्ने जमाना छ, जमाना अनुसार चल्न सकेन भने पछि परिन्छ, त्यसैले खर्चको पर्वाह नगरी म्युजिक भिडियो पनि निकालेको छु ।"
यी गायकको आवाज जति सुमधुर छ उनी त्यतिकै सुन्दर पनि छन् । म्युजिक भिडियोमा आफैं किन नखेल्नु भएको भन्ने प्रश्नको जवाफमा उनी स्पष्ट जवाफ दिन्छन्, ''म यस क्षेत्रमा अनुहार देखाउन अथवा रहर पूरा गर्ने उद्देश्यले आएको हैन त्यसैले गीतको भाव अनुसार अभिनय गर्नेलाई राखेको हो ।"
पहिलो र दोस्रो गीतको सफलतापछि अहिलेका चल्तीका संगीतकार बसन्त सापकोटाको संगीतमा तेस्रो गीतको रेकर्डको तयारीमा रहेका यी गायकलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।


Comments