न्यूटन्सको बाह्रौं बाषिर्कोत्सव सम्पन्न



१६ माघ, बिर्तामोड।
लामो समयदेखि समाजसेवामा क्रियाशील व्यक्तित्व र उत्कृष्ट अभिभावक र विद्यार्थीलाई सम्मानका साथै आकर्षक सांस्कृतिक कार्यक्रमसहित विर्तामोडको न्यूटन्स एजुकेसन एकेडेमीले आज शुक्रबार आफ्नो बाह्रौं बाषिर्कोत्सव मनाएको छ ।
कार्यक्रममा वि.सं. २००२ सालदेखि विर्तामोडमा बसोबास गरी समाजसेवामा क्रियाशील व्यक्तित्व पर्शुराम ढकाललाई अभिनन्दन गरियो । दोसल्ला, अभिनन्दन पत्र, तथा फूलमालाका साथ उनलाई सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट अभिभावकको रुपमा देवीप्रसाद गिरी-कोपिला गिरी, जितेन्द्र अग्रवाल-सोनु अग्रवाल, श्रवणकुमार पोखरेल-विना पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै न्यूटन्सले उत्कृष्ट शिक्षकको रुपमा रचना शर्मा र उत्कृष्ट कर्मचारीको रुपमा वरुण प्रसाईलाई सम्मान गरेको छ ।





गत वर्षको एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण चिरायु शर्मा बेडारी र सञ्जयकुमार साहलाई जनही पाँच हजार एक रुपैयाँ नगद हित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंले बालबालिकालाई असल, क्षमतावान र उत्कृष्ट बनाउनका लागि विद्यालयका शिक्षक र अभिभावकबीच सहयोग र सहकार्यको खाँचो रहेको बताए । शिक्षा सेवामा आफ्नो ४२ वर्षको अनुभव सुनाउँदै संस्थापक प्रिन्सिपल प्रसाईंले अभिभावक र विद्यालय तथा शिक्षक एक्लैले केही गर्न नसक्ने बताउँदै बालबालिकाको सुनौलो भविष्य निर्माणका लागि सहकार्यमा जोड दिए । उनले आफ्ना सन्तानलाई घरमा खुशीसँग पढ्ने बातावरण बनाइदिन र प्रत्येक अभिभावकलाई घरमा दैनिक दुई घण्टा शिक्षक बनिदिन आग्रह गरे । अभिभावकले त्यसो गरे मात्र बालबालिकामा शिक्षकले मानवीय गुण भर्न सक्ने प्रसाईंले बताए ।
विद्यालयका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ट अधिवक्ता लीला उदाशीले विद्यालयले भौतिक विकास र शैक्षिक गुणस्तरको क्षेत्रमा छोटो समयमा गरेको प्रगतिको प्रशंसा गरे ।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल प्रेम घिमिरेले स्वागत गरेका थिए ।




Comments