तिम्बुपोखरी खोजी प्रतिभा सम्पन्न



सन्देश सुब्बा इङ्वा
१ माघ, पाँचथर।
संगीत सिर्जना कला केन्द्र फलैंचा पाँचथरले आयोजना गरेको गायन तथा नृत्य प्रतियोगिता तिम्बुपोखरी खोजी प्रतिभा-२०७१ को फाइनल अडिसन सम्पन्न भएको छ । मंगलबार पाँचथरको फलैंचा बजारमा सम्पन्न प्रतियोगिताको फाइनल अडिसनबाट गायनतर्फ ओयाम पाँचथरका रोशन लिम्बू र नृत्यतर्फ मेमेङ पाँचथरका सीता सावादेन प्रथम भएका छन् ।
प्रतियोगिताका विजेताले नगद पाँच-पाँच हजार रूपैयाँ र एउटा गीत रेकर्डिङ साथै मोड्लिङ गर्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा गायनतर्फ द्वितीय हुने आङ्खोप ताप्लेजुङका कामना राई, तृतीय हुने च्याङथापुका हेमराज बेघा र सान्त्वना हुने फलैंचाका डेविट बेघालाई पनि एक-एक वटा गीत रेकर्डिङको अवसर दिइने आयोजक संगीत सिर्जना कला केन्द्रका निर्देशक समिर पारखीले बताए । त्यस्तै नृत्यतर्फ क्रमशः द्वितीय, तृतीय र सान्त्वना हुने फलैंचाका रजन गौतम, आङ्खोप ताप्लेजुङका सिर्जना राई र नारायण राईलाई पनि एक-एक वटा गीतमा मोड्लिङ गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।


विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सन्देश सुब्बा इङ्वाले प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए । कुना-कन्दरामा लुकेर रहेका प्रतिभाहरुको खोजी गरी अवसर प्रदान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा लिम्बुवान आइडल कञ्चन थलङ, गायक उदय नेम्बाङ, देव नेम्बाङ, डि.आर.हाङसरुम्बा, धनेन्द्र माङ्मु, राजन पल राई र कलाकार भगिराज राई लगायतले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

फोटोः माथि गायन तर्फका प्रथम रोशन वेघा र नृत्यतर्फका प्रथम सीता सावादेन र तल प्रस्तुती दिँदै लिम्बुवान आइडल कञ्चन थलङ)


Comments