राष्ट्रिय गायकलाई बाल क्लबको सम्मान



१२ माघ, दमक।
झापाको मेचीनगर -८ स्थित बालकल्याण बाल क्लबले आइतबार बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सो क्रममा क्लवले २ जना राष्ट्रिय गायकलाई सम्मान गरेको छ ।
बालकल्याण माविको ४२ औं बार्षिक उत्सव पारेर क्लबले विद्यालयका पूर्व विद्यार्थी गायक उत्तमजङ्ग लिम्बू र कमल रसाइलीलाई सम्मान गरेको हो। सांगीतिक क्षेत्रबाट यस क्षेत्रलाई राष्ट्रिय स्तरसम्म चिनाउन योगदान पुर्‍याएको भन्दै सम्मान पत्र र दोसल्लासहित विद्यालयका विद्यार्थीहरुले गायक द्वयलाई सम्मान गरेका हुन् ।
यसैगरी विद्यालयका प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठलाई सम्मानसहित विदाई गरिएको थियो । केही दिनअघि अवकास पाएका श्रेष्ठलाई मायाको चिनोस्वरुप खुकुरी सम्मान पत्र र दोसल्ला अबिरमालासहित विद्यार्थीले भव्य विदाई गरेका छन् । सोही अवसरमा क्लबको कार्यालय भवनको समेत उद्घाटन गरिएको थियो । कार्यालयको कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले उद्घाटन गरेका थिए ।



यसैगरी क्लबलाई जिल्ला बाल कल्याण समिति झापाबाट प्राप्त स्वीकृति प्रमाण पत्र समेत प्रमुख अतिथि विष्टले क्लबकी अध्यक्ष मिक्सेन लावतीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक उत्तमजङ्ग लिम्बू, रुकमान लिम्बू, कमल रसाइली, बाल गायिका स्वीकृति शर्मा, साइकिरण लम्साललगायतले गीत गाएर अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
क्लबकी अध्यक्ष मिक्सेन लावतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सुनसरी जिल्ला शिक्षा कार्यालयका उपसचिव होमनाथ भण्डारी, आदर्श उच्च माविका प्राचार्य, हेमकुमार खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकचन लिम्बू, काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष सूर्यप्रकाश उप्रेती, निवर्तमान प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठ, क्लबकी संयोजक अनिता कार्कीलगायतले बोलेका थिए ।


Comments