भूकम्पीय जोखिम न्यूनिकरणका लागि जनचेतना आवश्यक



२ माघ, दमक।
१७ औं भूकम्प दिवसको अवसर पारेर शुक्रवार झापाको दमक नगरपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।
दमक नगरपालिका र नेपाल भूकम्प प्रविधि राष्ट्रिय समाजको संयुक्त आयोजनामा यहाँ जनचेतनामूलक र्‍यालीसहित अन्तरसंवाद गरिएको थियो । कार्यक्रममा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भूकम्प कुनैपनि समयमा आउन सक्ने भएकाले भूकम्पीय जोखिम न्यूनिकरणका लागि जनचेतना अति नै आवश्यक रहेको जोड दिए । उनले भने, 'भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक प्रकोप तथा विपत न्युनिकरणका लागि विद्यालय स्तरवाट नै जनचेतनाका कार्यक्रमहरुलाई अगाडि बढाउनु जरुरी छ ।'
कार्यक्रममा सशस्त्र प्रहरी बल पाथिभारा गणका गणपति भरतबाबु कार्की, नेपाल भूकम्प प्रविधि राष्ट्रिय समाज पूर्व तयारी तथा विपत व्यवस्थापन केन्द्रका निर्देशक गणेश कुमार जिमिले भूकम्पीय जोखिमबाट बच्नका लागि पूर्वतयारी गर्न आवश्यक रहेकाले यसका लागि आजैबाट घर, टोल, वस्ती र गाउँ गाउँबाट जनचेतनामूलक कार्यक्रमहरुको थालनी गर्न आवश्यक रहेको औंल्याएका थिए ।


जनचेतनालाई प्रभावकारी बनाउन आयोजकले सन्देशमूलक तुल व्यानर र पञ्चेवाजा सहितको र्‍याली समेत निकालेको थियो भने कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि भुकम्प प्रतिरोधी र सामान्य घरको निर्माण गरी कृत्रिम भुकम्पको धक्का दिएर यसले पारेको क्षतिको अवस्थाका बारे प्रदर्शनीसमेत गरिएको थियो ।
यसैगरी उर्लाबारी, विर्तामोड, भद्रपुर नगरपालिकाहरुले समेत राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमहरु गरी मनाएका छन् ।
तस्वीर - भूकम्प प्रतिरोधी घरको निर्माणमा बारे दमकमा जानकारी गराउँदै (विष्णु सुब्बा)



Comments