सिँचाई आयोजना निर्माण शुरु भएपछि किसानहरू हर्षित

२५ पौष, दमक।
झापाको गौरादह गाविसमा सिँचाई आयोजना निर्माण शुरु भएपछि त्यस क्षेत्रका किसानमा खुसीयाली छाएको छ । पानी अभावले कृषि उत्पादनमा समस्या झेल्दै आएका किसानहरु सिँचाई आयोजना बन्ने भएपछि उत्साही भएका हुन् ।
नेपाल सरकार र जनश्रमदान गरी १८ करोड रूपैयाँको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी किस्ने खोला सिँचाई आयोजनाको निर्माणकार्य प्रारम्भ भएको छ । यसबाट नौ सय ४८ हेक्टर जग्गामा सिँचाई सुविद्या पुग्ने आयोजनाले जनाएको छ । किस्ने खोलाको मूल मुहानको हेड बक्सको लम्बाइ ५०.१० मिटर, मूल नहरको लम्बाइ ७.२५ किलोमिटर र शाखा नहरको संख्या तीनवटा रहनेछ ।


सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष शर्मानन्द अधिकारी यसले भूमिगत घरेलु सिँचाईको माध्यमबाट खेती गर्दै आएका किसानलाई ठूलो राहत पुग्ने बताउँछन् । 'भरपर्दो सिँचाई नपाएका कारण हामी किसानले जति उत्पादन गर्न खोज्दा पनि भनेजस्तो गर्न सकिने अवस्था थिएन', उनले भने, 'खेतीका लागि पानी नै नभएपछि हामीले जति नै गरे पनि हुँदो रहेनछ। अब चाहिँ आसा पलाएको छ ।'
सिँचाई आयोजना बनेपछि किसानले तीनदेखि चार बालीसम्म खेती गर्न सक्ने सम्भावना बढेको अधिकारीको भनाई छ । यसअघि माटोको कमजोर बाँध बाँधेर पनि खेतीमा सिँचाई गर्ने प्रयास किसानले गरेका थिए । तर त्यो दिगो हुन सकेन । पटकपटकको वर्षाले माटोको बाँधलाई भत्काइदिएपछि किसान चिन्तित हुँदै आएका थिए ।
सिँचाई विभागको मझौला सिँचाई आयोजनाअन्तर्गत पूर्वाञ्चल सिँचाई विकास डिभिजन नम्बर १ झापा र जल उपभोक्ता संस्थाले गौरादह- ३ स्थित किस्ने खोलामा बाँध बनाई सिँचाई आयोजना निर्माण शुरु भएको हो ।


विगत पाँच वर्षदेखि किस्ने खोला बाँध सिँचाई आयोजना निर्माण हुने नहुने विषयमा पूर्वाञ्चल सिँचाई विकास डिभिजन नम्बर १ र स्थानीयवासीले मन्त्रालयमा पहल गरेपछि सिँचाई मन्त्रालयले आयोजना निर्माणका लागि बजेट निकासा गरेपछि पहिलो चरणको बजेटले सो सिँचाई आयोजना निर्माण हुन लागेको पूर्वाञ्चल सिँचाई विकास डिभिजन नम्बर १ झापाले जनाएको छ ।
सिँचाई आयोजनाबाट गौरादह गाविसका वडा नम्बर ३, ४, ५, ७, ८ र ९ का ९ सय ७० घरधुरीका चार हजार तीन सय किसानले प्रत्यक्ष लाभ लिने पूर्वाञ्चल सिँचाई विकास डिभिजन नम्बर १ झापाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए । 'आयोजनाले गौरादहका किसानलाई पानीको झमेलाबाट मुक्ति दिनेछ', श्रेष्ठले भने, 'खेतीको अत्यन्त धेरै सम्भावना बोकेको गौरादहका लागि यो आयोजनाले वर्षमा कम्तीमा दुई पटक बाली लगाउन सहयोग पुग्नेछ ।'


Comments