सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ



१२ माघ, मोरङ।
मोरङ्गको राजघाटबाट सुनको सिक्री लुटी भागेका एक युवकलाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले सुनको सिक्रीसहित उर्लाबारी ४ का २३ बर्षिय किरण लिम्बुलाई आइतबार साँझ पक्राउ गरेको हो।
रातो पल्सर चढी आएका लिम्बुले राजघाट ५ स्थित उर्लाबारी इटहरा सडकखण्डमा हिँडिरहेकी स्थानिय २२ बर्षिया बिष्णु राईले लगाएको १५ आना बराबरको सुनको सिक्री लुटी भागेका थिए।
सिक्री लुटपाट भएको उजुरी पर्नासाथ प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद को १० प ८४२ नम्बरको मोटरसाइकलमा सवार लिम्बुलाई पक्राउ गरी सोध‍पुछ गर्दा आफुले सिक्री लुटी रिजन होटल एण्ड लजको कोठा नं. १०२ मा लुकाएर राखेको बताएका थिए ।




प्रहरीले निजको बयानका आधारमा उक्त होटेलको कोठामा खानतलासी गर्दा कार्पेटमुनी लुकाई राखेको अवस्थामा सिक्री बरामद भएको थियो।
पक्राउ परेका लिम्बुलाई जबरजस्ती चोरी मुद्दा अन्तर्गत कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख श्रीराम भण्डारीले जानाएका छन्।




Comments