'पिरती यस्तै हुन्छ' प्रदर्शन, पालाम आउँदै




१२ माघ, दमक।
झापाको दमकमा सोमबार 'पिरती यस्तै हुन्छ' नेपाली कथानक चलचित्र प्रदर्शन भएको छ । नुमा पिक्चर्स प्रालिको दोश्रो प्रस्तुति रहेको सो चलचित्र स्थानीय पाथीभरा चलचित्र मन्दिरमा विशेष च्यारिटी प्रदर्शन गरिएको हो । दमकका युवा निर्देशक जीवन बेघा निर्माता रहेको सो चलचित्रमा चर्चित कलाकार विल्सन विक्रम राई, कमला लिङदेन, निमा तामाङ, वविता फोम्बो, सुन्दर नेम्बाङ, अप्सरा शेर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रले गाउँघरको विकासमूलक पक्षलाई मुख्य कथाको विषयबस्तु बनाएको चलचित्रकी प्रस्तुतकर्ता मनकुमारी पन्दाकले जानकारी दिइन् । उनले दमकपछि बेलायत, हङकङ लगायतका देशहरुमा विशेष च्यारिटी प्रदर्शन गरिने बताइन् ।



यसअघि सो प्रालिले लिम्बु भाषामा आधारित 'पेली' ल्याएको थियो ।

यसैगरी लिम्बु भाषामा आधारित 'पालाम' चलचित्रको प्रिमियर शो यही माघ २४ गते दमकको मारवाडी हलमा हुने भएको छ । माता पाथीभरा फिल्मस् प्रालिको प्रस्तुति रहेको सो चलचित्रमा मित्र लिङदेन, सविना मादेन, सौजन्य सुब्बा, विनु पालुङवा, भूमिका फोम्बो, जितेन मेन्याङवो लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ भने चर्चित नायक राजेश हमाल अतिथि कलाकारका रूपमा देखापरेका छन् ।

Comments