आठौं एल्बमको तयारीमा प्रकाश



रामप्रसाद ढुंगेल, अबुधाबी
नाईं, मलाई त्यही केटी चाहिन्छ.. भन्दै नेपाली संगीतमा १५ वर्षअघि पाइला चालेका प्रकाश पौडेलले रोजगारीको क्रममा यूएईमा रहेर पनि संगीतलाई भुल्न सकेका छैनन् । रुन्चे गायकको रुपमा चिनिने प्रकाश विगत पाँच वर्षदेखि सेन्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा यूएईमा काम गर्नुका अतिरिक्त फुर्सदको समयमा गीत संगीतको सिर्जना, साधना र साप्ताहिक रुपमा आयोजना हुने सांगीतिक कार्यक्रममै गीत गाउन व्यस्त छन् ।
थ्री मच नामको एल्मबको अत्याधिक सफलतापछि प्रकाशले आफ्नो एम्बमको ब्रान्डलाई निरन्तरता दिँदै आठौं एल्बम एट मच रिलिजको तयारीमा छन् ।


आज रातभरि नाचिन्छ...बोलको गीत लगायत अन्य आठवटा गीतहरुको कलेक्सन एल्बम आगामी फेब्रुअरीको पहिलो सातामा सार्वजनिक गर्ने प्रकाशले बताएका छन् । भोलि छुट्टी मकै भुट्टी...जस्ता शब्द रहेको प्रकाशको उक्त एल्बममा डान्सिङ, कमेडी, लोक तथा पप गीतहरु रहने उनले बताएका छन् । आफ्नै शब्द र संगीत रहेको उक्त एल्बममा जेम्स प्रधानले एरेन्जरको भूमिका निर्वाह गरेका छन् । सलाम आलेकुम र हाहाहाहा जस्ता गीतहरुको सफलता र म्युजिक भिडियोको सुटिङ दुबईमै गरिसकेका प्रकाशले यस एल्बमको एक गीतको म्युजिक भिडियो दुबई र अबुधाबीमा सुट गर्ने बताएका छन् ।
आज रातभरि नाचिन्छ...बोलको गीतलाई प्रकाशले भेभो नामको म्युजिक साइटमा दर्ता गराएका छन्, भेभोमार्फत बज्ने यो पहिलो नेपाली गीत बन्न सफल भएको छ ।




Comments