सदस्यहरूलाई ठगेर सहकारीकी कलेक्टर फरार



२ माघ, विर्तामोड ।
झापाको मेचीनगर-५ मा सञ्चालित उपकार बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी शिला कोइराला सदस्यलाई दिएको ऋण लिएर फरार भएकी छन् । संस्थाकी कलेक्टर कोइराला संस्थाको मेचीनगर-४ मा रहेको कञ्चनजंघा समूहका १२ जनालाई दिएको करिव ५ लाख रूपैयाँ ऋण लिएर फरार भएको पीडितले शुक्रबार पत्रकार सम्मेलन जानकारी दिएका हुन् ।
कोइरालाले सदस्यहरूलाई कुनै सदस्यहरूलाई फकाएर र कसैलाई झुक्याएर ऋण लिएको सदस्यहरूले बताएका छन्। आफूले संस्थाबाट निकालेको ऋण आफूले तिर्ने भन्दै मौखिक सहमति गरेपनि कोइरालाले साप्ताहिक एवं मासिक रुपमा तिर्ने व्याजसहितको ऋण रकम नतिरेपछि संस्थाले सदस्यलाई तागेता गर्दा उक्त कुरा सार्वजनिक भएको हो । 'संस्थाका सदस्यले ऋण किन नतिरेको भन्ने मौखिक जानकारी



आएपछि मात्रै थाहा पायौं', मेचीनगर ४ का टीका बानियाँले पत्रकार सम्मेलनमा भने, 'हामीले थाहा पाएको पत्तो पाएपछि कोइराला फरार छिन् ।' उनको बारेमा संस्थामा जानकारी गराउँदा संस्थाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग र व्यवस्थापक जगत तामाङ्गले थाहा नभएको उत्तर दिँदैआएको वानियाँको गुनासो छ । उनले केही महिनाअघि व्यापारिक प्रयोजनका लागि ५० हजार रूपैयाँ निकाल्नु पर्ने कलेक्टर कोइरालालाई भनेका थिए । प्रतिउत्तरमा कोइरालाले संस्थामा निवेदन गर्नुपर्छ अनि मात्रै ऋण रकम पाइने भनेपछि संस्थामै पुगेर हस्ताक्षर पनि गरे तर रकम भने उनले अहिलेसम्म पाएका छैनन् । उल्टै ऋण लगानीपछि नियमसंगत ऋण चुक्ता गर्न नचाहेको भन्दै बानियाँको निजी मोटरसाइकल संस्थाका व्यवस्थापक राईले इलाका प्रहरी कार्यालय धुलाबारीमा पुर्‍याएका छन् । बानियाँले सम्मेलनमा भने, 'आफूले खाएको मात्रै विष लाग्छ तर, नखाएको विष किन लगाउन खोज्नु?'
उनीमात्रै होइन सोही समूहकै अर्का पीडित धनमाया चिमरियाको पनि उही कहानी छ । श्रीमान् र छोरा घर नभएको बेलामा आफूलाई ललाईफकाई दाइले संस्थाबाट ऋण झिक्ने भन्नु भा'थ्यो तपाइ भएपनि हुन्छ भन्दै संस्थामै लगेर ल्याप्चे लगाएकी थिइन् । रकम केही दिनपछि आउने भन्दै आफूलाई घर फर्काएको चिमरियाले सम्मेलनमा जानकारी दिइन् । केही महिनापछि संस्थाले लिएको ऋण तिर्नु पर्दैन भने पछि मात्रै थाहा भयो 'लौ अब के गर्ने ?' थकित हुँदै सुनाइन् । उनको नाउँमा ४० हजार रूपैयाँ ऋण संस्थामा देखिएको छ ।



त्यस्तै सोही समूहका विना दर्जीको ५० हजार, रञ्जु दर्जीको ४० हजार, अनिता दर्जीको ४० हजार देवीमाया दर्जीको ४० हजार, मिरा तामाङ्गको ५० हजार, असली तामाङ्गको ४० हजार, रुपा दर्जीको ४० हजार, निशा राईको ३० हजार, सीता दनुवारको नाउँमा ५० हजार रुपैयाँ लिएको संस्थाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ जानकारी दिए। अध्यक्ष नेम्बाङका अनुसार समूहका अधिकांश सदस्यले बाख्रापालन, भैसीपालन तथा व्यावसायिक प्रयोजनको नाउँमा ऋण माग गरेपछि उनीहरुले नै सहिछाप गरी रकम बुझेका हुन् । उनीहरुले बुझेको रकम कसलाई दिन्छन्, के गर्छन् संस्था जवाफदेही बन्दैन । उनले आफ्नो कर्मचारी शिला कोइरालालाई खोजी गरिरहेको समेत जानकारी दिए । पीडितले शुक्रबार नै सहकारी संस्था, इलाका प्रहरी कार्यालय धुलाबारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन सहरकारी संस्था, जिल्ला सहकारी संघ झापामा फरार कोइरालाको खोजी गरिदिन समेत बोधार्थ हालेका छन् ।



Comments