हमाललाई हेर्न आधा दर्जन विद्यालय बन्द

-->
HAMAL PROG
१३ माघ, दमक।
एउटा चलचित्रको प्रबर्द्धनका लागि राष्ट्रिय स्तरका कलाकार आएका कारण झापाको जुरोपानीमा आज मंगलबार त्यहाँका आधा दर्जन बढी विद्यालयहरु बन्द भएका छन् । श्रद्धा फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माणाधिन चलचित्र 'तँ, म र उ' को प्रबर्द्धनका लागि जुरोपानीका सामुदायिक र निजी विद्यालयहरुले आफ्नो विद्यालयको नियमित पठनपाठन नै स्थगित गरेका हुन् ।
स्थानीय भानु स्पोर्टिङ क्लबको आयोजनामा स्थानीय जुरोपानीकै एक मात्र उच्च मावि प्रगति उच्च माविको प्राङ्गणमा आज राजेश हमाललाई हेर्न ती विद्यालयहरु बन्द भएका थिए ।

-->

यसरी विद्यालयको पठनपाठन नै स्थगित गरेर विद्यार्थीसहित शिक्षकसमेत पुगेका विद्यालयहरुमा जुरोपानी-८ मा रहेको गौरिया निमावि, प्रगती उच्च माबि, बैराती प्रावि, भारती प्रावि, श्रीप्रावि, अरुणोदय प्रावि तथा संस्थागततर्फ न्यू भिजन एकेडेमी, इमिनेन्ट कञ्चनजंघा माबि, नमूना अंग्रेजी माबि लगायत रहेका छन् । कार्यक्रममा चर्चित नायक हमाललाई सम्मान गरिएको थियो ।

नियमित पठनपाठनलाई नै स्थगित गरी विद्यालयका शिक्षक तथा विद्यार्थीहरु एउटा चलचित्रको प्रबर्द्धनमा जानु निश्चय पनि राम्रो नभएको गुनासो सर्वसाधारणहरुको छ । झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेलसँग सम्पर्क गर्दा लुइँटेलले आफूलाई यसबारे जानकारी नआएकोले थप जानकारी आएपछि मात्र प्रतिक्रिया दिने बताए। तर लुइँटेलले कुनै ब्यक्ति बिशेषद्वारा निर्माण गरिएको चलचित्रको प्रबर्द्धनका लागि विद्यालयको पठनपाठननै स्थगित गरेर विद्यार्थी र शिक्षकहरु त्यसरी जान नहुने बताए। जिल्ला शिक्षा अधिकारी लुइँटेलका अनुसार विद्यार्थीहरुलाई सांस्कृतिक सहयोग पुग्ने कार्यक्रम भए त्यसलाई सहयोग गर्दा फरक नपर्ने भएपनि यसरी एउटा क्लबको आयोजनामा गरिएको कार्यक्रममा त्यसरी स्कुल नै बन्द गरेर सहभागी हुनु उपयुक्त हुदैन । जुरोपानीमा यस बिषयमा गौरिया निमाबिका प्रधानाध्यापक बेणु प्रसाद अधिकारीले क्लवको निमन्त्रणा पत्रमै पढाई स्थगित गरी सहयोग गरिदिनु हुन अनुरोध गरिएका कारण आफूहरु उपस्थित भएको प्रतिक्रिया दिए। उनले क्लवले यहाँका विद्यालयहरुलाई वेलावेलामा सहयोग पुर्‍याउँदै आएका कारण नै एक दिनका लागि विद्यालय पठनपाठन रोकेर कार्यक्रममा सहभागी भएको बताए।

फोटो क्याप्सन – महानायक राजेश हमाललाई हेर्नेहरूको भीड।
-->

Comments