चार दुर्घटनामा तीनको ज्यान गयो, सात घाइते




१० माघ, दमक।
मोरङ र सुनसरीमा भएका चारवटा दुर्घटनामा तीनजनाको ज्यान गएको छ । ती दुर्घटनामा सातजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-३ मा आज बिहान दुईवटा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
विहान १० बजेतिर पूर्वबाट पश्चिम जाँदैगरेको ज ५ प ४७६३ र बिपरीत दिशातर्फ आउँदैगरेको को ३ प ८६०४ नम्बरका मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा परी बेलबारी ३ का ३५ बर्षिय छत्र बहादुर गुरुङ, निजकी २२ बर्षिया श्रीमती रेणुका गुरुङ, ४ बर्षिय छोरा र अर्को मोटरसाइकलका जिल्ला महोत्तरी गोगनपुरका ३५ बर्षिय रामकृपा महतो, १७ बर्षिय प्रबन्ध चौधरी घाइते भएका थिए। घाइते पाँचै जनालाई उपचारार्थ पथरी अस्पताल लगिएकोमा छत्र बहादुर गुरुङको उपचारको क्रममा साढे १२ बजेतिर मृत्यु भएको हो ।
घाइते प्रबन्ध चौधरीलाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएको छ। दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन् ।



मोरङकै ‍उर्लावारीमा भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लावारी ९ मा हिजो साँझ सवा ६ बजेतिर पूर्वबाट जाँदैगरेको को १ त ८९३९ नम्वरको ट्रयाक्टरमा सोही दिशाबाट गइरहेको मे ३ प ८४१४ नम्वरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक मोरङ रमिते ७ का २८ बर्षिय टेक बहादुर राई र पछाडी सवार इलाम महमाई २ का २९ बर्षिय अरुण राई गम्भीर घाइते भई उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा अरुण राईको उपचारको क्रममा मृत्यु भएको हो।
ट्रयाक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ।

मोरङकै कोशी हरैचा नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा हिजो साँझ ६ बजेतिर एक ट्रकको ठक्करबाट ठेला चालक घाइते भएका छन्।
पूर्वतर्फ आइरहेको ना २ ख २७०२ नम्वरको ट्रकले ठेलालाई ठक्कर दिँदा ठेला चालक स्थानिय २५ बर्षिय भरत साह घाइते भएका हुन्। घाइते साहको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।
ट्रक र ट्रक चालकलाई अस्थाई प्रहरी चौकी बिराटचोकले नियन्त्रणमा लिएको छ।


उता सुनसरीको भोक्राहामा ९ पूर्वपश्चिम राजमार्गमा आज बिहान एक सवारी दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
विहान साढे ६ बजेतिर पश्चिमबाट पूर्व आउँदैगरेको को १ त ५२२६ नम्बरको ट्याक्टरलाई सोही दिशामा सवार ना ५ ख ५१० नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको हो। दुर्घटनामा परी ट्याक्टरमा लेवर काम गर्ने सुनसरी मधुवन ५ का ३५ बर्षिय बच्चु खत्वेको घटनास्थलमा मृत्यु भएको हो भने सोही स्थान बस्ने ट्याक्टरका सहचालक ३० बर्षिय राजेन्द्र शर्मा घाइते भएका हुन्। घाइते शर्माको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रकका चालक फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




Comments