३० पौष, सुरुङ्गा।
सुरुङ्गा जेसीजको सातौं वार्षिक उत्सव तथा साधारण सभाबाट वर्ष सन् २०१५ का लागि अध्यक्षमा त्रिलोचन चिमरिया सर्वसम्मत चयन भएका छन् । चिमरिया कनकाई नगर क्षेत्रका क्रियाशिल युवा व्यवसायीका रुपमा परिचित व्यक्तित्व हुन् ।
जेसीज शाखाको विधान अनुसार अध्यक्ष सहित कार्यकारिणी उपाध्यक्षमा दुई जना, उपाध्यक्षमा चारजना र जनसम्पर्क अधिकारी एकजना गरी आठवटा पदमा निर्वाचन हुने प्रावधान अनुरुप निर्वाचनबाट पदाधिकारी चयन गरिएको छ । तर अध्यक्षमा एक, उपाध्यक्षमा चार र जनसम्पर्क अधिकारीमा एकजना मात्रको उम्मेद्वारी परेकाले ती पदहरुमा सर्वसम्मत भएको छ । यता कार्यकारिणी उपाध्यक्षमा चार जनाको उम्मेद्वारी परेकाले वुधवार भएको निर्वाचनबाट विनोद उप्रेती र कमल कट्टेल निर्वाचित भएका छन् । कार्यसमितिको निर्वाचनलाई सहज बनाउन निवर्तमान अध्यक्ष जनक कार्कीको संयोजकत्वमा पूर्व अध्यक्षहरु एलपी उप्रेती र मोतिखर ओझा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । महा-सचिव लगायत अन्य पदहरुका लागि पद हस्तान्तरण अगाडी अध्यक्षले मनोनित गरेर कार्य समितिलाई पूर्णता दिने नवनिर्वाचित अध्यक्ष चिमरीयाले जनाएका छन् ।
यता सोही कार्यक्रमका बीच सुरुङ्गा जेसीजले भृकुटी उच्च मावि, दुर्गापुरका विद्यार्थीहरुलाई ७० थान स्वीटर वितरण गरेको छ । त्यस्तै देवकोटा प्रावि, तुलसीबारीलाई १० थान प्लाष्टिकको कुर्सी प्रदान गरिएको छ। देवकोटा प्राविमा प्रदान गरिएको कुर्सीको सौजन्य वर्ष सन् २०१४ का अध्यक्ष शिव कँडेलले गरेका थिए ।
वाषिर्क उत्सवमा दिप प्रज्वलनका साथै केक काटेर प्रमुख अतिथि कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाले उद्घाटन गरेका थिए । कार्यक्रममा सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, पूर्व अध्यक्ष कुमारमणि पोखरेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष युवराज संग्रौला, जेसीजका मानार्थ सदस्य राजेन्द्र पोखरेल, भृकुटी उमाविका प्रअ मेदनी पाठक, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्रका शारदा पाठक लगायतले मन्तव्य राखेका थिए । सुरुङ्गा जेसीज वर्ष २०१४ का अध्यक्ष शिव कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा वर्ष २०१४ का कार्यकारिणी उपाध्यक्ष सरला पोखरेलले आस्थावाचन, भीम भट्टराईले स्वागत तथा महा-सचिव विनोद उप्रेतीले सञ्चालन गरेका थिए ।
Comments
Post a Comment