१२ बर्षिया सामनाले बनाइन् विश्व कीर्तिमान




नयाँ दिल्ली ।
बागलुङकी १२ वर्षीया बालिकाले १२ घण्टासम्म मेहन्दी लगाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । भारतको तमिलनाडु पाण्डिचेरीमा अध्ययनरत बागलुङ जिल्लाको कुस्मीशेरा गाबिसस्थित टुनिबोटकी १२ वर्षीया सामना पौडेलले १२ घण्टामै १ सय ४५ जनाको हातमा मेहन्दी लगाएर विश्व रेकर्ड कायम गरेकी हुन् । ब्रिटेनको लण्डन र सिङ्गापुरबाट आएका निरीक्षकहरुले सामना पौडेललाई विश्व कीर्तिमान बनाएको प्रमाण पत्र दिएका छन् ।



कक्षा ८ मा अध्यनरत पौडेलले हेन्ना आर्ट गरी विश्व कीतिर्मान बनाएपछि परिवारमा खुसी छाएको छ । प्रवासी नेपाली संघका सल्लाहकार समेत रहेका सामनाका पिता टिका पौडेल छोरीको प्रगतिबाट प्रफूल्ल छन् । पौडेल भन्छन्, "यो नेपाली युवा विद्यार्थीहरुका लागि पनि प्रेरणाको विषय हो ।" श्रमिक परिवारकी सामनाले धेरै मेहनतबाट मात्रै सफलता प्राप्त भएको बताएकी छिन् । उनी चित्रकलामा पनि बिशेष रुचि राख्छिन् ।
यसैबीच, सामनालाई एलाईट वर्ल्ड रेकर्ड, एसियाली रेकर्ड एकाडमी, तमिल बुक अफ रेकर्ड, इण्डियन रेकर्ड अफ एकाडमीले प्रमाण पत्र दिएका छन् । प्रवासमा रहेर पनि नेपाली मजदुरकी छोरीले विश्व रेकर्ड कायम गर्नु देशवासी तथा प्रवासी नेपालीहरुका लागि गौरवको विषय भएको सामाजिक अभियन्ता अशोक अधिकारीको टिप्पणी छ ।



Comments