खानेपानी उपभोक्ता संस्थाको साधारणसभा



३० पौष, दमक।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको बुधबार २० औं साधारणसभा सम्पन्न भएको छ ।
दमक-१० स्थित मारवाडी सेवा समितिको हलमा भएको साधारण सभामा पानी महसुल नियमित तिर्ने मध्येका उत्कृष्ट १६ जना उपभोक्ताहरुलाई पुरस्कृत गरिएको थियो । महसुल बुझाउनेहरुमध्ये पुरस्कृत हुनेहरुमा सीता कार्की, गंगा काफ्ले, इन्द्रा कार्की, चुडामणि बराल र नरविर फागो लगायत रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले पुरस्कृत गरेका थिए । त्यस्तै संस्थाहरुमध्ये पुरस्कृत हुनेमा कृषि बिकास बैक दमक शाखा र लाइफलाइन अस्पताल दमक रहेका छन् ।
कार्यकारी अधिकृत दाहालले खानेपानीको मुहानलाई जोगाई राख्न सकिए पानीको नियमित सहजता हुने चर्चा गरेका थिए ।


कार्यक्रममा संस्थाको दमक साना शहरी खानेपानी आयोजनाका इन्जिनियर चन्द्रकान्त झाले निर्माणाधिन २ वटा खानेपानी आयोजनाहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं, दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक- ५ का अध्यक्ष दलबहादुर राई, लखनपुर खानेपानी सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष उषा भण्डारीले खानेपानीका स्रोतहरु रुख बिरुवाहरु जोगाउनु पर्नेमा जोड दिँदै स्रोतको समेत खोज्नुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष पशुपतिराज गौतमले आर्थिक बर्ष २०७१/७२ को बजेट तथा प्रगति प्रतिवेदन पेश गरेका थिए ।
दमक -१ र १५ मा खानेपानीका टंकीहरु निर्माण भएर परीक्षणका लागि पानी छोडने काम भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले एसियाली बिकास बैकको सहयोगमा निर्माण भएका योजनाहरु फागुन मसान्तभित्र सकिने जानकारी दिएको छ ।





Comments