सतासीधाम खानेपानीमा करोडौंको योजना सञ्चालन





१३ माघ, दमक।
झापाको शिवसताक्षी नगरपालिका-७ स्थित सतासीधाम खानेपानी तथा सरसफाई आयोजनामा केन्द्रीय योजना सञ्चालनमा आएको छ । खानेपानी विस्तार सुधार योजना कार्यक्रमअन्तर्गत सो क्षेत्रको खानेपानी सुधार गर्न करोडौंको रुपैयाँको लगानीमा काम हुन थालेको छ । यहाँको खानेपानी जिल्लाको दोश्रो पूरानो योजना मानिन्छ ।

२०४२ सालमा सुरु भएको यस सतासीधाम खानेपानी तथा सरसफाई आयोजनाले साविक सतासीधामका सबै वडामा पुर्‍याएको थियो भने हाल शिवसताक्षी न.पा.का ७, ८ र ९ नं. वडामा पानीका धाराहरु सञ्चालनमा रहेका छन् । २०४२ सालमा खानेपानीको अभाव महशुस गरी महमाई-९ इलामको झरना खोलाको मुहानबाट पानी ल्याई वितरण हुँदै आएको छ । वर्षायाममा खोलामा बाढी आउने भएकाले उक्त धाराहरु हिँउदमा मात्र सञ्चानल हुने गरेका छन् । हाल उपभोक्ताको मागलाई झरनाको पानीले धान्न नसक्ने भएपछि भूमिगत पानीको अवधारणा ल्याइएको खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका निर्माण समितिका सचिव पदमप्रसाद दहालले बताए।



जिल्ला खानेपानी डिभिजन कार्यालयले उक्त योजना आफ्नो रेखदेखमा सम्पन्न गर्ने भएको छ । जिल्ला खानेपानी तथा डिभिजन कार्यलय प्रमुख चोकबहादुर धितालले २ सय मिटर तल गएर भए पनि स्वच्छ खानेपानी निकाल्नेमा काम शुरु भइरहेको बताए। उनले भने, 'यो आयोजनामा कुनै अवरोध आएन भने करिव दुई वर्षसम्ममा काम पूरा गर्ने लक्ष्य लिएको छ ।'

आयोजनाको पूरानो खानेपानी ट्यांकीमार्फत नै धाराहरु वितरण गरिनेछ । यसका लागि फिल्टर ट्यांकको काम भने पूरा भइसकेको छ । धिताल भन्छन्, 'यसबाट हामी १ हजार भन्दा बढी धाराहरु सञ्चालनमा ल्याउने छौं ।'

नेपालमा यसरी डिटिएस प्रविधिबाट काम कमै मात्रमा भएको छ । यो प्रविधिबाट बोरिङ्ग गरेर पानी निकाल्न मात्रै करिब २५ देखि २८ लाखको लागत लाग्ने र उक्त आयोजना पूर्ण रुपमा सम्पन्न गर्न ७ देखि ८ करोड लाग्ने अनुमान गरिएको छ । सरकारले रकम किस्ता बन्दी रुपमा उपलब्ध गराउने भएकाले पहिलो निकासा भएको रकमबाट काम शुरु गरिएको झापा डिभिजन कार्यलयका इन्जिनियर अशोककुमार शाहले बताउनुभयो ।

यता दीर्घकालीन रुपमा नै खानेपानीको समस्या हल हुने भएपछि स्थानीयबासी हर्षित देखिन्छन् । 'उक्त योजना सम्पन्न भएपछि शिवसताक्षी नागरपालिकाका ६, ७, र ९ मा सयौं उपभोक्ताहरु लाभान्वित हुनेछन् ।'




Comments