हात्ती पीडितलाई पौने करोड

-->

१२ माघ, दमक ।
चार बर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट झापामा पीडित बनेकाहरूलाई कुल ७५ लाख ६२ हजार ३ सय ९२ रुपैयाँ राहत वितरण गरिएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०६८/0६९ देखि अहिलेसम्ममा हात्तीबाट पीडित भएकाहरुलाई सो राहत हस्तान्तरण गरिएको हो । सो अवधिमा २१ जनाको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।

कार्यालयका अनुसार आव २०६८/0६९ मा हात्ती आक्रमणबाट ज्यान गुमाएका नौ जनाका परिवारजनलाई १३ लाख ५० हजार, सामान्य घाइते भएका चार जनालाई १९ हजार ९ सय ५० र सख्त घाइते भएका १० जनालाई चार लाख ६० हजार २ सय १० रूपैयाँ वितरण गरिएको थियो ।


-->


आव २०६९/0७० मा ज्यान गुमाएका आठ जनाको परिवारजनलाई १८ लाख, सख्त घाइते भएका पाँच जनालाई दुई लाख २६ हजार २ सय २२ र १३ घर गोठमा पुगेको क्षतिको ९० हजार रूपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो ।
यस्तै, आव २०७०/0७१ मा ज्यान गुमाएका तीन जनाका परिवारजनलाई नौ लाख, सामान्य घाइते भएका दुई जनालाई १८ हजार र सख्त घाइते एकजनालाई ५० हजार, दुई घर गोठका क्षतिपूर्तिका लागि ११ हजार रूपैयाँ प्रदान गरिएको थियो ।

यसै आवमा अन्नबाली क्षति भएकामा २४ जनालाई दुई लाख ४ हजार ६ सय रूपैयाँ वितरण गरिएको थियो । आव २०७१/0७२ मा ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई तीन लाख, सख्त घाइते भएका दुई जनालाई ५५ हजार २ सय ६५, दुई घरगोठका लागि क्षतिपूर्ति २० हजार र अन्नबाली क्षति भएका ६५ जनालाई छ लाख ११ हजार ६ सय ७५ रूपैयाँ वितरण गरेको जिल्ला वन कार्यालय हात्ती द्वन्द्व व्यवस्थापन शाखाका कर्मचारी प्रकाश राईले जानकारी दिए ।
विगतका वर्षमा हात्ती आक्रमणबाट ज्यान गुमाएकाको परिवारजनलाई एक लाख ५० हजार रूपैयाँ जनही राहत प्रदान गरिँदै आएको थियो भने अहिले त्यो बढाएर तीन लाख बनाइएको छ । अन्य क्षतिका लागि मूल्याङ्कनको आधारमा क्षतिपूर्ति दिइने गरिन्छ ।


-->


Comments