मृदुलको फूलभित्रका काँडाहरु लोकार्पण





सन्देश सुब्बा इङ्वा,
११ पौष, फिदिम ।
गजलकार कुवेर मृदुल आङ्बोको पहिलो गजल संग्रह 'फूलभित्रका काँडाहरु' को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार फिदिममा आयोजित एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि तथा पाँचथर सामुदायीक पुस्तकालयका अध्यक्ष नरेन्द्रकुमार केरुङले संग्रहको लोकार्पण गरेका हुन् ।
कृतिको लोकार्पण गर्दै प्रमुख अतिथि केरुङले साहित्यको उर्वरभूमिको रुपमा परिचित पाँचथरबाट मृदुलले 'फूलभित्रका काडाँहरु' गजल संग्रहको जन्म दिएर नेपाली गजल लेखनको विकासमा थप एउटा इटा थप्न सफल भएको विचार व्यक्त गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथि साहित्यकार प्रेम ओझाले मृदुलका गजलहरु संरचना र भाव पक्ष दुवै दृष्टिले सवल र उत्कृष्ट रहेको टिप्पणी गरे ।


विमोचित कृतिको पाँचथर बहुमुखी क्याम्पसका प्रध्यापक एवं समालोचक लक्ष्मी ढुंगाना र स्रष्टा राज दिलाञ्जलीले समीक्षा गरेका थिए । दुबैजना समिक्षकले कृतिभित्र सामान्य त्रुटीहरु भए पनि पहिलो प्रयासमै मृदुलले उत्कृष्ट गजलहरु पस्केर भविष्यमा एक सफल गजलकार बन्ने सम्भावनाको ढोका उघारेको उल्लेख गरे ।
पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा तीन दर्जनभन्दा बढि स्रष्टाहरुको सहभागिता रहेको थियो । जम्मा ७४ पृष्ठको उक्त संग्रहमा ६४ गजल समावेश गरिएका छन् भने कृतिको मूल्य २५० रूपैयँ राखिएको छ ।
उक्त लोकार्पण कार्यक्रम पाँचथर गजल मञ्चका अध्यक्ष मधु आजित केरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
(कृति विमोचन कार्यक्रमको फोटो)

Comments