कोसेली घर सञ्चालन हुने




राकेश नेपाली
८ पौष, उदयपुर।
अव गाईघाट बजारमा घरेलु उद्योगका सम्पूर्ण सामान पाइने गरी कोसेली घर सञ्चालनमा आउने भएको छ । बजारको माग र स्थानीय उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय व्यवसायीहरुको सामान बजारसम्म पुर्‍याउन यस्तो कोसेली घर सञ्चालनमा आउन लागेको हो ।
त्रियुगा उद्योग वाणिज्य संघमार्फत सञ्चालन हुने उक्त कोसेली घर यही पुस महिनाभित्र ल्याइसक्ने वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिए । कोसेली घर सञ्चालनका लागि जिल्ला विकास समिति उदयपुर, कोसेली उपभोक्ता सहकारी संस्था लिमिटेड, घरेलु तथा साना उद्योग लिमिटेड, त्रियुगा नगरपालिका, लद्यु उद्यमी संघको साथै सहकारी डिभिजन कार्यालय लगायतका संघ संस्थाको समन्वय सहयोगमा स्थापना हुन लागेको जानकारी वाणिज्य संघका अध्यक्ष भगतले दिए ।


कोसेली घर सञ्चालनको लागि करिव २० लाखको लगानी रहने अनुमान गरिएको छ । काठ तथा बाँसका सामाग्रीहरुको साथै ढाकाका सामानहरु, अगरवत्ती, मैनवती, टपरी लगायत मसला, च्याउ पनि कोसेली घरमा पाइने छन् । त्यस्तै मायाको चिनो, माटाका कलात्मक सामाग्री जस्ता सजाबटका वस्तुहरु राखिने वाणिज्य संघका अध्यक्ष भगतले बताए ।
स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुलाई व्यवस्थित व्यवसायिकरण गर्न पहिलो पटक लागिएको छ भने कोसेली घर सञ्चालनसँगै अन्य लघु उद्योगीलाई आवश्यक तालिम तथा कच्चा पदार्थ उपलब्ध गराइने भगतले बताए ।
कोसेली घर पुरानो कोसेली घर भएको नजिकै त्रियुगा उच्च मावि गाईघाटको पुरानो भवनमा संचालन हुनेछ ।



Comments