सकियो 'तोने' को छायाङ्कन





सन्देश सुब्बा इङ्वा, पाँचथर ।
गुरुङ जातिको कला र संस्कृति समेटिएको लघु चलचित्र 'तोने' को छायाङ्कन सकिएको छ । गुरुङ वस्ती पाँचथरको रानीटारमा 'तोने' को छायाङ्कन गरिएको हो । उक्त चलचित्रमा हाल लोपोन्मुख अवस्थामा रहेको गुरुङ समुदायको मेतोनेलिफा पर्वको कथा रहेको चलचित्रका लेखक/निर्देशक सागर केरुङले बताए ।
प्रत्येक वर्षको उधौली यामको शुरुवातमा गुरुङ समुदायका युवा-युवतीहरु भेला भएर धनुषवाण हान्ने प्रतियोगिता र यस सम्बन्धी प्रशिक्षण चलाउने गर्दथे । यहि खेल नै मेतोनेलिफा हो । गुरुङ भाषामा 'तोने' को अर्थ 'धनुष' हुन्छ । मेतोनेलिफा पर्व पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तार पछि आदिवासी जनजातिका कला-संस्कृतिमाथि शुरु गरिएको अतिक्रमणसँगै लोप भएर गएको गुरुङ जातिका विज्ञहरु बताउँछन् ।


गुरुङ जातिको मेतोनेलिफा पर्व अर्थात् धनुषवाण हान्ने प्रतियोगिता नेपालमा लोपोन्मुख अवस्थामा रहे पनि भारतीय सेनामा भने 'आर्चरी ओलम्पीक' को नामले चर्चित छ । यद्यपि नेपालमा भने पुनरुत्थान हुन नसकेको यहि पर्वलाई श्रव्य दृष्यमा उतार्न चलचित्र निर्माण गरिएको निर्माता सुजन गुरुङले बताए ।
यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त चलचित्र करीब २९ मिनेटको हुने निर्माण पक्षको भनाई छ । सुजन गुरुङ, पवित्रा गुरुङ र उमेश गुरुङद्वारा निर्मित 'तोने' मा सागर केरुङको लेखन/निर्देशन र तिलक रिजालको छायाङ्कन रहेको छ भने अर्चना गुरुङ, मधु केरुङ, अल्फा गुरुङ, भीम गुरुङ, गंगा गुरुङ र राजु गुरुङ लगायतले अभिनय गरेका छन् ।
करीब पाँच लाख रूपैयाँ लागतमा निर्माण भइरहेको उक्त चलचित्रलाई निर्माण सम्पन्न भएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा आयोजना हुने विभिन्न आदिवासी जनजाति चलचित्र महोत्सवहरुमा सहभागि गराइने निर्माता सुजन गुरुङले बताए ।


Comments