भुटानी शरणार्थीलाई गरेको सहयोग फर्कियो सहयोगै बनेर



मातृभूमि भूटानबाट लखेटिएर भर्खर नेपाल आएका शरणार्थीको सहयोगमा वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय (मह जोडी)ले कार्यक्रम आयोजना गरी जुटाएको सहयोग सहयोगकै रुपमा फिर्ता भएको छ।

यसपटक अमेरिका र क्यानाडामा झण्डै चार महिना लामो यात्राका क्रममा महले गरेको त्यो बेलाको सहयोग क्यानेडियन भूटनिज सोसाइटीका तर्फबाट फर्केको छ। ‘हामीले बिर्सिसकेका थियौं,’ श्रेष्ठले बुधबार भने, ‘एकजनाले पाँच सय र अर्काले एक सय गरी ६ सय क्यानेडियाली सहयोग पठाएका हुन्।’

भर्खर भर्खर भूटानी शरणार्थीहरू आएर कन्काइको किनारमा छाप्रा बनाइरहेका थिए। ‘हामीले त्यो बेला कार्यक्रम आयोजना गरी दालचामल, तरकारी आदि सहयोग गरेका थियौं,’ श्रेष्ठले भने, ‘त्यो सहयोग उनीहरूले नै सम्झाए।’




‘हामीले यो सहयोग एक सय रूपैयाँमा विपन्न बालबालिकाहलाई शिक्षा दिँदै आएको समता स्कुललाई दिन्छौं भनेपछि उनीहरूले ताली पिटेर समर्थन गरेका थिए,’ श्रेष्ठले भने।

त्यही सहयोग वीरगन्ज जेलभित्र स्थापित समता स्कुलका बालबालिकालाई जाडोमा स्वेटर र टोपीका रूपमा बुधबार पुगेको छ। अहिले तीन कक्षासम्म सञ्चालित स्कुलमा ८० जना बालबालबालिका अध्ययन गर्दै छन्।




‘मह जोडीमार्फत् भूटानी शरणार्थीहरूले पठाएको यो सहयोग समताका बालबालिकाका निम्त न्यानो कोसेली भएको छ,’ समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले भने, ‘यसले वीरगञ्ज स्कुलका बालबालिकाहरूलाई जाडोमा पढ्न आउन सजिलो हुनेछ।’

बालबालिकाहरूलाई स्वेटर र टोपी लगाइदिँदै प्रिन्सिपल रविना खातुन र शिक्षिकाद्वय अलका वर्णवाल र अनामिका मिश्राले आफूहरूलाई यो अद्वितीय स्कुलमा पठाउन पाउनुलाई गौरवको विषय भएको बताएका थिए।

‘जेलमा परेका अभिभावकसँगै रहेका यस्ता बालबालिकालाई पढाउने मौका अरू कुन शिक्षकलाई प्राप्त हुन्छ र?’ रविनाले भनिन्, ‘यसकारण पनि हामी हाम्रो अभियानलाई निरन्तरता दिन चाहन्छौं।’

आफूले अरूलाई अप्ठ्यारो पर्दा सहयोग ग¥यो भने अर्कोले पनि सम्झेर त्यस्तै सहयोग गर्ने गरेको अनुभव महलाई जहिल्यै हुने गरेको छ। ‘पोहोर अष्ट्रेलियामा पनि हामीलाई त्यो बेला सहयोग गरेको भन्दै सम्मान गरेका थिए,’ श्रेष्ठले भने।
- सेतोपाटीबाट


Comments