२५ मंसीर, बिर्तामोड।
जिल्ला विकास समितिले झापाका खोलामा ट्रिपरलाई ढुंगा, गिटी, बालुवा निकाल्न नदिँदा विकास निर्माण कार्य ठप्प भएको निर्माण व्यवसायीले बताएका छन् ।
अन्य जिल्लामा निर्वाध रुपमा ट्रिपरले खोलाबाट गिट्टी, बालुवा निकालिरहेको तर झापामा चुरे संरक्षणका नाममा खोलामा ट्रिपर पस्नै नदिइएको निर्माण व्यवसायी संघ झापाका अध्यक्ष दीपेन्द्र पोखरेलले जानकारी दिए ।
गत असार महिनादेखि नै ट्रिपरले गिट्टी-बालुवा झिक्न नपाउँदा जिल्लाको विकास निर्माण ठप्प हुनुका साथै व्यवसायी र मजदुरलाई जीवीकोपार्जनमा नै संकट उत्पन्न भएको अध्यक्ष पोखरेलले बताए ।
'ट्याक्टरमा गिट्टी-बालुवा बोकेर विकास निर्माणका काम निर्धारित समयमा सकिँदैन', अध्यक्ष पोखरेलले भने, 'शुरु भएको विकास आयोजना समयमा पूरा नहुँदा व्यवसायीलाई नै जरिवाना गरिन्छ, नयाँ विकास आयोजनाका बजेट फ्रीज हुन्छन् भने मुलुक विकासको गतिमा पछाडि धकेलिने अवस्था आउँदैछ ।'
सरकारले तोकेको मापदण्ड अनुसार खोलाबाट ट्रिपरमा गिट्टी बालुवा उठाउन पाउनुपर्ने निर्माण व्यवसायी माग छ । व्यवसायीहरु वातावरण संरक्षणको विपक्षमा नरहेको प्रष्ट पार्दै उनीहरुले व्यवस्थित ढंगले वातावरणलाई असर नपर्ने गरी व्यवसाय र विकास निर्माणको काम सहज रुपमा गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।
ढुंगा, गिट्टी, बालुवा अनुगमन समितिका संयोजक झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले मापदण्ड अनुसार निश्चित अवधिका लागि केही दिनभित्रै ट्रिपरलाई खोलाबाट गिट्टी बालुवा झिक्न दिने व्यवस्था मिलाइने बताए ।
स्थानीय विकास अधिकारी तथा समितिका सदस्य फणिन्द्र दाहालले ट्रिपरलाई त्यसरी रोक नलगाइएको तर पहिले जस्तो जहाँ पायो त्यहीबाट भने गिट्टी, बालुवा झिक्न नदिइएको बताए । तोकिएको ठाउँबाट प्रत्येक खोलाबाट दिनको २ सय ५० घनमिटरसम्म गिट्टी बालुवा झिक्न दिइएको तर केही खोलामा भने ठाउँ तोक्न बाँकी रहेको दाहालले बताए।

Comments
Post a Comment