विर्तामोडमा सडक बत्ती जडान हुने

-->




STREET LAMPS
४ पौष, बिर्तामोड।
पूर्वको मुख्य व्यापारिक केन्द्र झापाको बिर्तामोडमा रात्री समयमा हुने चोरी, डकैती, लुटपाटको घटनालाई मध्यनजर गरी सडक बत्ती जडान गरिने भएको छ ।
झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको अगुवाइमा बिर्तामोडको मुक्तिचोकबाट चारै दिशामा सडक बत्ती जडान गरिने भएको हो ।
शुक्रवार झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोडका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा भएको सरोकारवालाबीचको छलफलमा सडक बत्ती जडानका लागि तत्काल पहल गर्ने निर्णय भएको छ ।

-->
बाणिज्य संघले उपाध्यक्ष कुमार भट्टराईलाई उक्त कार्यको लागि संयोजक तोकेर सडक बत्ती जडान समिति बनाएको छ ।
शुक्रवारको छलफलमा बिर्तामोड नगरपालिका, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग सहकार्य गरी बिर्तामोड बजार क्षेत्रमा सडक बत्ती जडानका लागि आवश्यक पहल गर्ने निर्णय भएको संयोजक भट्टराईले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका प्रमुख रविन्द्र वस्ती, विद्युत प्राधिकरण अनारमनीका इञ्जिनियर अनिल अधिकारी, इञ्जिनियर रोशन भट्टराईले उक्त कार्यमा आफ्नो निकायबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । छलफलमा बाणिज्य संघमा कोषाध्यक्ष निर्मल भट्टराई, उपसचिव प्रशान्त भण्डारी (भेषराज)ले बिर्तामोडमा सडक बत्ती अत्यन्त आवश्यक रहेकाले तत्काल जडान गर्नुपर्नेमा जोड दिए ।
बिर्तामोड मुक्तिचोकबाट पूर्वमा कनकाई रोडसम्म, पश्चिममा पश्चिम बस स्टेण्डसम्म, उत्तरमा शनिश्चरे रोड-ट्याक्सी स्ट्याण्डसम्म र दक्षिणमा भद्रपुर रोड-बस स्ट्याण्डसम्म सडक बत्ती जडान गरिने बताइएको छ ।
१२ लाख रुपैयाँ बराबरको लागतमा उक्त कार्य गर्न लागिएको जानकारी दिँदै संघका अध्यक्ष कार्कीले भने, 'लाइट संघले खरिद गर्नेछ, मासिक बिल भुक्तानी, तार र मजदुर खर्चका लागि नगरपालिकालाई आग्रह गरेका छौं ।'
-->

Comments