चासोक मेला शुरु





सन्देश सुब्बा इङ्वा,
११ पौष, फिदिम ।
नमुना शहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिममा चासोक मेला शुरु भएको छ । किरातीहरुको महान चाड उधौली (राईहरुको साकेवा/साकेन्वा, लिम्बूहरुको चासोक, याक्खाहरुको चासुवा र सुनुवारहरुको फोलोस्याँदर) पर्वको अवशरमा किरात याक्थुङ चुम्लुङ पाँचथरले मेलाको आयोजना गरेको हो ।
आफूलाई प्रकृतिपुजक भनेर चिनाउँने किरात समुदायमा वर्षायाममा लगाएको अन्नबालि पाकेपछि प्रकृति र माङ् अथवा पितृलाई चढाएर मात्र आफूले खाने प्रचलन छ । यसो गरेमा अन्नबालिको सह रहने, कुनै रोग व्याधीले नसताउने जनविश्वास छ । यहि पर्वको अवसर पारेर साँस्कृतिक उत्सवको रुपमा मेलाको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष बुद्धराज लिम्बूको भनाई छ ।



मेलाको अवसर पारेर पुष १३, १४ र १५ गते विविध कार्यक्रमको आयोजना गरिनेछ । सो अवसरमा विभिन्न जातजातिको जातीय परिकारहरुको स्टल राखिनुका साथै साँस्कृतिक झाँकी प्रदर्शनी, बृहत् साँस्कृतिक कार्यक्रम, केःलाङ (च्याब्रुङ नाच) प्रतियोगिता, पक्लुङ (छेलो हान्ने) प्रतियोगिता र धान नाच प्रतियोगिताको आयोजना गरिएको छ ।
मेलाको थप रौनक थप्न गत शनिबारदेखि नै चासोक रमाइलो मेला शुरु भएको छ । पुष २५ गतेसम्म जारी रहने रमाइलो मेलाअन्तर्गत रोटेपिङ साथै जुवाजन्य बाहेकका विभिन्न मनोरञ्जतात्मक खेलहरु सञ्चालन भइरहेको मेला आयोजक किरात याक्थुङ चुम्लुङ पाँचथरका कार्यवाहक सचिव नरेन्द्रराज केरुङले बताए ।



Comments