बक्यौता नतिर्ने बेइमानको बेहाल





nepal electricity authority
राकेश नेपाली
१३ पौष, उदयपुर ।
लामो समयसम्म विद्युत उपभोग गरी बक्यौता नतिर्ने ग्राहकलाई विद्युत प्राधिकरण गाईघाटले कालोसूचीमा राखेको छ । बक्यौता नतिर्ने र सम्पर्कमा नआउने ६९ सेवाग्राहीलाई कालोसूचीमा राखेर तीनपुस्ते नाम सार्वजानीक गरी विद्युत सेवाबाट बञ्चित गरिने तयारी भइरहेको विद्युत प्राधिकरण गाईघाटका लेखा प्रमुख ऋषि अधिकारीले जानकारी दिए ।
यसरी कालोसूचीमा पर्नेहरुमा साधारण ग्राहकहरु बढि छन् । यस्तैगरी एसियाकै सवैभन्दा ठुलो उदयपुर सिमेण्ट उद्योगले दुई महिनायता विद्युत महसुल तिरेको छैन । उद्योगले कार्तिक र मंसिरको गरि ७५ लाख ९८ हजार रूपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।


'पटकपटक सचेत गराउँदासमेत अटेर गर्ने सेवाग्राहीहरुलाई कालोसूचीमा राखेर कारवाही गर्न लागिएको हो', लेखा प्रमुख अधिकारीले भने, 'गत साउन महिनादेखि कार्तिक मसान्त सम्ममा लामो समयसम्म विल भुक्तान नगर्ने ६९ सेवाग्राही पहिचान गरी सेवाबाट बञ्चित गर्ने तयारीमा छौँ ।'
लाइन काटिएका ग्राहकहरुबाट करिव ९ लाख ५८ हजार रूपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको जनाइएको छ । यसरी लाइन काटिएका केही ग्राहकहरुले कालोसूचीबाट बच्नको लागि पुनः जडान गरेका छन् । 'पुनः जडान गरिएको बिजुलीबाट १ लाख ६० हजार रूपैयाँ असुल भएको छ', अधिकारीले भने, 'श्रावणयता पुनः जडान गरिएकाहरुबाट २१ हजार रूपैयाँ पुरानो बक्यौता उठेको छ ।'
बक्यौता नतिर्नेहरु सम्पर्कमा नआएकाले तीनपुस्ते विवरण सार्वजनिक गर्न लागिएको अधिकारीले जानकारी दिए । गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ६७ सेवाग्राहीको लाइन काटेको थियो । गाईघाट प्रशासरण लाइनको विद्युत उपभोग गर्ने २४ हजार ७ सय ३४ उपभोक्ताहरुबाट खपत भएको ९७ लाख ७८ हजार ४ सय ८८ युनिटबाट ७ करोड ४७ लाख ७४ हजार ५ सय ६० रूपैयाँ संकलन हुनुपर्नेमा हाल सम्म ७ करोड, ३९ लाख १९ हजार ३ सय ३७ रुपैयाँ मात्र संकलन भएको अधिकारीले जानकारी दिए ।


विद्युत खपत विक्रीको तुलनामा ८५.५ प्रतिशतमात्र बक्यौता संकलन भएको छ । यस्तै कुल विद्युत खपतको ६१ प्रतिशत उदयपुर सिमेण्ट उद्योगले खपत गरेको छ । गतबर्ष ३ करोड ७ लाख ८१ हजार ४ सय ८६ युनिट विद्युत खपत हुँदा २३ करोड १८ लाख ५५ हजार १ सय ७९ रुपैयाँ संकलन हुनुपर्नेमा बढेर २३ करोड ६९ लाख ९३ हजार ७ सय ६३ रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । संकलन हुने रकमको १ सय २ प्रतिशत बक्यौता संकलन भएको हो । विद्युत महसुल भुक्तान नगर्ने र कारवाहीमा पर्ने ग्राहकहरुले पुनः लाइन जडान गर्दा लाग्ने खर्चका कारण बढि रकम देखिएको अधिकारीले बताए ।
यस्तैगरी अन्य जिल्लाहरुको तुलनामा उदयपुरमा विद्युत चुहावटमा भने कम देखिएको छ । हालसम्म उदयपुरमा विद्युत चुहावट १२ प्रतिशत मात्र रहेको प्राधिकरणका सव इन्जिनियर कृष्ण शर्माले जानकारी दिए । हुकिङ नियन्त्रण, पम्प्लेटिङ, सूचना, प्रचारप्रसार र विद्युत चोरी गर्नेहरुलाई कारवाहि गर्ने गरेकाले अन्य जिल्लामा जस्तो विद्युत चुहावट कम भएको शर्माले बताए ।





Comments