तरकारी बजारमा मनपरी, मूल्यमा एकरुपता नहुँदा सर्वसाधारण मारमा






राकेश नेपाली
५ पौष, उदयपुर।
सरकारी निकायबाट प्रभावकारी रूपमा बजार अनुगमन नहुँदा उदयपुरमा तरकारीको भाउ एकाएक महँगिएको छ । दशैं, तिहार र छठको अगाडिसम्म यदाकदा बजार अनुगमन गर्ने गरिएको भए पनि अहिले अनुगमन तथा कारबाही प्रक्रिया ठप्प भएका कारण पनि तरकारी व्यापारीहरुले मनपरी रुपमा तरकारीको मुल्य निर्धारण गर्दै विक्री वितरण गरेको पाइएको छ ।
यति बेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासु लगायतका उपभोग्य वस्तुको बजारभाउ बढ्नुपर्ने कुनै कारण छैन । तरकारी उत्पादनमा कुनै समस्या नदेखिएपनि बजार मूल्य भने मनपरी छ । एउटै वस्तुको मूल्य ठाउँअनुसार फरक-फरक पाइन्छ ।




विनाकुनै कारण तरकारीमा एकाएक मूल्यवृद्धि भइरहँदा सरोकारवाला निकायहरु भने मौन छन् । बजारमा क्रमिकरूपमा अस्वाभाविक तरिकाले मूल्यवृद्धि भइरहेको छ । यसलाई नियन्त्रण गर्न कोही लागिपरेको देखिँदैन । यसका कारण आमउपभोक्ता मर्कामा परेका छन् ।
यसरी बजारमा तरकारीको मुल्यमा मनपरि हुँदा आम उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् । यस्तै बजारमा तरकारीको गुणस्तरसमेत राम्रो नहुँदा सर्वसाधारण ठगिने गरेका छन् । धेरै दिनदेखि स्टकमा राखिएका साग सब्जी, काउली, बन्दा, टमाटर, भाण्टा लगायतका तरकारीहरु आधाजसो सडेको अवस्थामा बेच्न राखिन्छन् ।
सरदमुकामर गाईघाटमा यतिबेला काउली प्रतिकिलो २० देखि ४०, बन्दा प्रतिकिलो ३० देखि ४०, आलु प्रतिकिलो २० देखि ५०, भाण्टा प्रतिकिलो २० देखि ३५ रूपैयाँसम्मको लामो मुल्य अन्तरमा विक्री हुने गरेको छ । यस्तैगरी बोडी प्रतिकिलो २० देखि ५०, करेला प्रतिकिलो ५० देखि ७०, टमाटर प्रतिकिलो ३५ देखि ५० रुपैयाँ सम्ममा विक्री हुँदै आएको छ । यसरी लामो अन्तर हुनुमा तरकारीको गुणस्तर अनुसार हुने केही व्यापारीहरु बताउछन् ।




यसरी तरकारीमा लामो मुल्यान्तर हुँदासमेत स्थानीय प्रशासनले अनुगमनका लागि कुनै पहल चालेको छैन ।
यस सम्बन्धमा त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खड्ग बहादुर कार्कीले बजार अनुगमनको अभावमा तरकारीको भाउ एकखाले नभएको स्वीकार गरे । बजार भाउमा एकरुपता ल्याउन नगरपालिकाको एक्लो प्रयासले सम्भव नहुने भएकाले सवै सरोकारवालाहरुले चासो देखाउनुपर्ने बताए । यस्तैगरी त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले असन्तुलित बजारभाउलाई चाँडै सन्तुलनमा ल्याइने बताए । उनले हाल तरकारीको गुणस्तर र व्यापारीहरुले भिन्नाभिन्नै ठाउँबाट तरकारी आयात गर्ने हुनाले पनि तरकारीको भाउमा एकरुपता हुन नसकेको बताए ।
व्यापारीहरुले सुनसरीको इनरुवा, सिरहाको गोलबजार, चौहर्वा, लौकही लगायतका स्थानहरुबाट तरकारी भित्र्याउने गरेका छन् भने जिल्लाका केही क्षेत्रहरुबाट पनि तरकारी सदरमुकाममा भित्रिने गर्छ ।
यस्तैगरी व्यवसायीहरुले फरक फरक ठाउँबाट आयात गर्ने गुणस्तरहित तरकारीप्रति ग्राहक आकर्षित गर्न सस्तो दरमा दिने गरेका कारण पनि तरकारीमा एकरुपता हुन नसकेको तरकारी व्यवसायी दिलकुमारी सुर्खेतीले बताइन् ।
यता अनुगमनकर्ताहरुले अनुगमनका क्रममा दोषी देखिएकाहरू माथि कारबाही गर्न नसक्दा पनि तरकारीको मुल्यमा एक रुपता हुन नसकेको सर्वसाधारणहर बताउँछन् । प्रभावकारी कानुनी व्यवस्थाको अभावमा दोषीलाई दण्डित गर्न नसकिएको जस्ता अभिव्यक्ति दिँदै नियमनकारी निकायहरू आफ्नो जिम्मेवारीबाट उम्किरहेका कारण सब्जी मण्डीमा मनपरी हुँदैआएको छ ।




Comments