लिम्बुवान प्राप्तिका लागि निर्णायक आन्दोलन थाल्ने घोषणा





८ पौष, दमक।
अरुण पूर्वका नौ जिल्लाहरुलाई विशिष्ट लिम्बुवान राज्य बनाउनका लागि पूर्वका लिम्बुवानजन्य संगठनका अगुवाहरुले संयुक्त आन्दोलन थाल्ने भएका छन् । पहिचानका मुद्दाहरुलाई ठुला राजनीतिक दलहरुले षडयन्त्र गरेको भन्दै उनीहरुले निर्णायक आन्दोलन गर्ने जनाउ दिएका हुन् ।
मंगलबार दमकको किरात भवनमा किरात याक्थुङ चुम्लुङले व्यवस्थापन गरेको कार्यक्रममा लिम्बुवानजन्य विभिन्न पार्टी तथा संस्थाका अगुवाहरुले अबको आन्दोलन सम्झौताविहीन हुने भएकाले आन्दोलनबाट नै आफ्नो मागलाई पूरा गराई छाड्ने चेतावनी दिएका छन् ।




संविधानसभाका सदस्य श्रीप्रसाद जवेगुले कांग्रेस, एमाले पहिचान बिरोधी भएकाले उनीहरुविरुद्ध अधिकार खोज्ने सवै वर्ग, समुदाय प्रतिकारमा उत्रनु पर्ने अवस्था बन्दै गएको उल्लेख गरे । एमाओवादीको भातृ संगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष समेत रहेका सभासद् जवेगुले आन्दोलनको आँधीवेहरीबाट नै जनताले चाहेको संविधान र संघीयता बनाउनु पर्ने आवश्यकता बनेको दावी गरे । कांग्रेस, एमालेले पेलेर माघ ८ मा नै बहुमतीय संविधान बनाउने खेलमा लागेकाले त्यसबाट जनताको अधिकार र आत्मसम्मानमा चोट पुग्ने उनको जिकीर थियो । उनले भने, 'अव लिम्बुवान प्राप्तिका लागि पार्टीभन्दा माथि उठेर सशक्त आन्दोलन चर्काउनुपर्छ ।'
कार्यक्रममा संघीय लिम्बुवान पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङवाले लिम्बुवान प्राप्तिको लडाईं जाति, वर्गको मात्र आन्दोलन नभएको भन्दै यो अधिकार र समानताको निम्ति भएकोमा जोड दिए । उनले भने, 'अव पनि हामीले उठाएका मागलाई दलहरुले गम्भीर रूपमा लिँदैनन् भने देशमा अस्थिरता झनै बढ्ने छ ।'



वुद्धिजीवि भवानी बरालले नेपालको राज्य पूनरसंरचनाको प्रकृया लामो समयदेखि गलत भएकाले अहिले पनि राजनीतिक दलहरु यसप्रति सजक नभएको आरोप लगाए । उनले सवै वर्ग समुदायको अधिकारलाई नयाँ बन्ने संविधानमा समावेश गर्न दलहरुमा कमजोरी देखिएकाले यस विरुद्ध आन्दोलित हुनुपर्ने बताए । लिम्बुवान कुनै जाति वर्गको भनेर पहिचानको परिभाषालाई गलत दृष्टिले हेरिँदै आएको उनको विश्लेषण थियो । बरालले कार्यपत्र प्रस्तुत गर्दै अवको अधिकार र समानताको लडाईं साझा आन्दोलन बनाउनु पर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा, संघीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र माखिमले अबको आन्दोलन किनारा नभएसम्म कसैसँग सम्झौतामा कहिल्यै नटुङ्गिने दावी गरे । त्यस्तै, ताजपुरिया समाज कल्याण परिषदका संस्थापक अध्यक्ष नित्यानन्द ताजपुरिया, संविधानसभाका पूर्व सदस्य विश्वदिप लिङदेन, नेकपा माओवादीका नेता कान्छा लाओती, संघीय समाजवादीका झापा जिल्ला अध्यक्ष धिरेन लाओती, राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान राज्य परिषदका सचिव विष्णु थाङदेन, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारषमणि राई लगायतकाले लिम्बुवान प्राप्तिको लडाईं एउटा जाति र वर्गको मात्र हो भनेर हेरिनु नहुनेमा जोड दिएका थिए ।
चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनको अध्यक्षतामा भएको कार्यक्रममा लिम्बुवान प्राप्तिको निर्णायक आन्दोलनलाई एकीकृत रुपमा अगाडी बढाउनु पर्ने विभिन्न क्षेत्रका सर्वसाधारणहरुले सुझाव दिएका थिए ।





पालुङवाको नेतृत्वमा लिम्बुवान संघर्ष समिति
अग्रज लिम्बुवानी नेता सञ्जुहाङ पालुङवाको नेतृत्वमा लिम्बुवान संघर्ष समिति गठन गरिएको छ । संघीय लिम्बुवान पार्टीका बरिष्ठ नेतासमेत रहेका उनले यस समितिको निर्माणले लिम्बुवानको आन्दोलन थप उचाईमा पुग्ने दावी गरे ।
पालुङवाको अध्यक्षतामा २५ सदस्यीय निर्देशन समिति र ७ सदस्यीय सचिवालय समिति गठन गरिएको छ । निर्देशनात्मक समितिको सदस्यहरुमा भवानी वराल, सञ्जुहाङ पालुङवा, नगेन्द्र धिमाल, विश्वदिप लिङदेन, श्रीप्रसाद जवेगु, कान्छा लाओती, विष्णु थाङदेन, शान्ता योङहाङ, हरिदेवी लाओती, धर्म खड्का, केवि फूदुङ, नरवहादुर लिम्बु, नित्यानन्द ताजपुरिया, सुमित्रा वाङदेल, मुकेश मेन्याङवो लगायत छन् ।
यसैगरी निर्देशन समितिको सदस्यहरुमा हर्ष सुब्बा, भैरव आङला, कमल तिगेला, दुर्गामाया लिम्बु लगायत रहेका छन् ।
त्यस्तै, सचिवालय समितिमा प्रेमदिप थाम्सुहाङ, दिपेनवाला राई, चोत्लुङ मेन्याङवो, पारषमणि राई, कमल चोङवाङ, केदार धिमाल, जीवन सिंगक, विष्णु सुब्बा, पमद जवेगु, सुरेश लाओती रहेका छन् ।
अधिकारवादी नेता पद्मरत्न तुलाधारको नेतृत्वमा हालै गठन गरिएको आदिवासी, जनजाति राष्ट्रिय आन्दोलन संघर्ष समितिले देशैभरि पहिचान र संघीयताको आन्दोलन थप चर्काउने उद्देश्य अनुरुप सो समिति गठन गरिएको चुम्लुङका केन्द्रिय अध्यक्ष थाङदेनले जानकारी दिए ।

तस्वीर - कार्यक्रम लिम्बुवानजन्य विभिन्न क्षेत्रका अगुवाहरु




Comments