अव्यवस्थित बन्दै इटहरीको फोहोरमैला व्यवस्थापन





विष्णु सुब्बा, इटहरी।
सुनसरीको इटहरी उपमहानगरपालिकामा सञ्चालित फोहोरमैलाको व्यवस्थापन गर्ने कार्य प्रभावकारी बन्न सकेको छैन। उपमहानगरपालिकासँग सम्झौताअनुरुप काम गर्दैआएको इन्भारो केयर कन्सर्न प्रालिले पछिल्लो समय यहाँको फोहोरमैला व्यवस्थापन चित्तबुझ्दो मा गर्न नसकेको स्थानीयको गुनासो छ । फोहोरमैलाको व्यवस्थापनमा गम्भीर नभएका कारण सो संस्थाले नगरका फोहोरमैला खोलाकिनारमा अव्यवस्थित तवरले ल्याण्डिङ गर्दैआएको छ ।
इटहरी-७ स्थित बुढीखोलामा गरिँदै आएको फोहोरमैलाको थुपारिने कार्यले सो क्षेत्रका बस्ती नै दुर्गन्धित बन्दै गएको छ । दुर्गन्धका कारण खोला नजिकैको बुढीगंगा प्राविका विद्यार्थीहरु बाहिर पढन नसकेको स्थानीय एक शिक्षक बताउँछन् ।



उपमहानगरपालिका, उद्योग बाणिज्य संघ तथा उपभोक्ताहरुको साझेदारीमा फोहोरमैला व्यवस्थापन गर्दैआएको सो संस्थाको काम भने वातावरणमैत्री हुन सकेको छैन। फोहोरमैलालाई बैज्ञानिक तवरबाट व्यवस्थापन गर्नुका सट्टा जथाभावी फालिँदै आएका कारण नगरको सुन्दतामा नै आँच आउने देखिँदै गएको छ ।
संस्थाले सम्झौता गर्दा आफूले नगरवासीहरुलाई सहयोग तथा आवश्यकीय पूर्वाधार उपलब्ध गराउने कबुल गरेको भएपनि अझैसम्म सो कार्यान्वयन नगरेको स्रोतले जनाएको छ । नगरमा दैनिक ठुलो परिणाममा निस्कने फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा समस्या देखिँदै गएको छ । सो संस्थाका अध्यक्ष मानध्वज मोक्तानले आफूहरूले सम्झौता अनुसार नै काम गर्दै आएको दावी गरे।
यसैवीच सोही संस्थाले दमक नगरमा आफ्नो भावी कार्यक्रम सञ्चालन गर्ने हेतुले त्यहाँको फोहोरमैलाको अवस्थाको बारेमा सर्वेक्षण थालेको बुझिएको छ ।
तस्वीर - इटहरीस्थित बुढीखोलामा अव्यवस्थित तवरले गरिँदै आएको फोहोरमैलाको व्यवस्थापन ।



Comments