झापा कारागारभित्र एक महिने पत्रकारिता तालिम सम्पन्न




२५ मंसीर, चन्द्रगढी।
जिल्ला कारागार झापामा रहेको बन्दी विकास पुस्तकालयको आयोजनामा सञ्चालित एक महिने आधारभूत पत्रकारिता तालिम आज विहीवार सम्पन्न भएको छ ।
कैदीबन्दीहरुलाई पत्रकारिताको आधारभूत ज्ञान र सीप सिकाउने उद्देश्यले आयोजित तालिम प्रभावकारी भएको सहभागीहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटा र अतिथि महासंघका सचिव एकराज गिरीले कारागारभित्र पत्रकारिताको तालिम सञ्चालन गर्नु र पत्रकारिताको ज्ञानको विकास गर्नु प्रशंसनीय भएको बताए। कारागारका १५ जना कैदीबन्दी सहभागी रहेको तालिममा हाल कारागारमा बन्दी जीवन विताइरहेका पत्रकार रमेश पोखरेलले प्रशिक्षण दिएका थिए ।


उक्त अवसरमा सहभागी मध्येबाट उत्कृष्ट समाचार लेख्ने प्रकाश घिमिरेलाई पुरस्कृत गरिएको थियो । बन्दी विकास पुस्तकालयका अध्यक्ष तथा कारागार आन्तरिक प्रशासन प्रमुख सुनिलकुमार वसेलको अध्यक्षतामा भएको समारोहमा कारागारका प्रशासन प्रमुख जेलर दीपेन्द्र खत्री, सुरक्षा प्रमुख राजन खड्का, प्रशिक्षार्थीहरु राजकुमार खरेल र प्रकाश घिमिरेले मन्तव्य राखेका थिए । प्रशिक्षार्थी मौसम बराइली र प्रशिक्षक रमेश पोखरेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको पुस्तकालयका सचिव पूर्ण राईले स्वागत गरेका थिए । कारागारका स्वास्थ्य प्रमुख बलदेव साह लगायतको आतिथ्य रहेको तालिम समापन समारोहमा प्रशिक्षार्थीहरु राजकुमार खरेल, प्रकाश सिटौला, जेम्स लिम्बू, चतुरमान राई र हसिर मियाको टोलीले आकर्षक रेडियो कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कारागारमा यसअघि सहकारी प्रशिक्षण पनि सम्पन्न भएको थियो । सहकारी सम्बन्धी प्रशिक्षण युवराज गिरीले प्रदान गरेका थिए ।


Comments