मावाखोलामा पक्की पुल निर्माण कार्य सुरु





तेजन खड्का
११ पौष, उर्लाबारी।
झापाको दमक नगरपालिकाको वडा नम्बर १९ सेतुमारीवाट मोरङको राजघाट-६ जोड्ने मावाखोलामा पक्की पुलको निर्माण कार्य सुरु भएपछि स्थानीय सर्वसाधारणमा खुशीयाली छाएको छ ।
करिब ५ करोड रूपैयाँको लागतमा ६६.३ मिटर लम्बाईको पुलको निर्माण कार्य प्रारम्भ भएपछि सर्वसाधरणमा खुशीयाली छाएको हो ।
स्थानीय विकास मन्त्रालयले २०७० साल चैत्र १२ पुल निर्माणको काम स्वीकृत भएर विपी चौहद ज्वाइन्ट भेन्चर निर्माण कम्पनीसँग २०७२ साल चैत्र २६ गतेभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको पुलको निर्माण कार्य प्रारम्भ भएको मावाखोला पक्कीपुल निर्माण समितिका सचिव वासुदेव ढुङ्गानाले जानकारी दिए।
पुल निर्माण सम्पन्न भएपछि दमक नगरपालिकाको दक्षिणी वडाहरुका साथै मोरङ जिल्लाको पूर्वी दक्षिणका एक दर्जन गाविसका बासिन्दा लाभान्वित हुनेछन् ।



यस पूलबाट विराटनगर जोड्नका लागि सहज हुने हुलाकी मार्गलाई समेत जोड्ने भएकाले दमक नगरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुल निर्माणका कोषाध्यक्ष सिंहवहादुर देवानले बताए।
पुलले दक्षिणको सुख्खा बन्दरगाह र उत्तरमा रवि चिसापानी हुँदै मध्य पहाडी लोकमार्गलाई जोड्ने भएकाले समग्र नगरको विकास कोशेढुङ्गा सावित हुने दमक-१९ का नरेन्द्र वनेम फागोले बताए। पुल निर्माणको काम शुरु भएपछी यातायातको क्षेत्रमा मात्र नभएर यस क्षेत्रको उत्पादनले सहज रुपमा ब्यापार पाउने स्थानीयवासीको भनाई छ ।
पुल निर्माण समितिका अध्यक्ष अम्बिका प्रसाद खनालका अनुसार बर्षौंदेखि यहाँ पुलका लागि स्थानीयले माग गर्दै आएका थिए । बारम्बार रुपमा आश्वासन आउने गरेपनि यो पटक भने पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । 'बर्षाका समयमा पुल नहुँदा बाढीको समस्याले खोला तर्न मुस्किल हुने गर्थ्यो', अध्यक्ष खनालले भने, 'अव भने समस्या टर्ला जस्तो छ ।'
पुल निर्माण हुने भएपछि मख्ख भएका स्थानीयवासीले पुल निर्माणसँगै खोलाको पनि राम्रो तटबन्धन भईदियोस् भनेर सरकारसँग माग गरेका छन् । खोलामा बाढी आउँदा स्थानीयको उर्भरभूमि बगरमा परिणत हुने गरेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्रनम्बर ७ का संविधानसभा सदस्य केपी शर्मा ओलीले गएको असोज १५ पुलको शिलान्यास गरेका हुन् ।




Comments