पहिचानको माग गर्दै मारवाडीले वुझाए ज्ञापनपत्र






३ पौष, दमक।
झापाका मारवाडी समुदायले आफ्नो छुट्टै पहिचान, संस्कृति र भाषालाई अव बन्ने नयाँ सविधानमा सुचिकृत गर्न माग गरेका छन् । अव बन्ने संबिधानमा आफ्नो भाषालाई राष्ट्रिय भाषाका रुपमा सुचिकृत गरिनु पर्ने माग राख्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय झापामार्फत संविधानसभालाई ज्ञापनपत्र बुझाएका हुन् ।


'नेपालको सविधानमा मारवाडी भाषाको छुट्टै पहिचान गर, मारवाडी जातिलाई नेपाली मारवाडीको घोषण गर’ भन्ने मुल नाराका साथ झापाको विर्तामोडदेखि मोटरसाइकल, कार र्‍यालीका साथ सदरमुकाम भद्रपुर आएका झापाका मारवाडी समुदायले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र वाचनपश्चात नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्यद्वय वेदप्रकाश अग्रवाल र उमेश डालमियाले संयुक्त रुपमा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई बुझाएका थिए ।




नेपालभरी छरिएर रहेका मारवाडी समुदायलाई राज्यले मधेशीमा समावेश गरेको पाइएकोले हामीलाई असजिलो तथा एक्लोपन महसुस हुँदै आएकोमा आफ्नै छुट्टै पहिचान, संस्कृति तथा भाषाको लागि संविधानसभाका सभामुख, मुख्य राजनीतिक दलहरुलाई यसै ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराउन चाहेको पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा परिषदका केन्द्रीय सदस्य उमेश डालमिया, मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष राजु शर्मा (पारिक), मारवाडी युवा मञ्च विर्तामोडका अध्यक्ष रोनक वंशल, महिला मञ्चका अध्यक्ष दीपा खेडिया, मारवाडी सेवा समिति दमकका अध्यक्ष दिनेशकुमार अग्रवाल, सेवा समिति भद्रपुरका अध्यक्ष सुवोध कोठारी, सेवा समिति धुलावरीका अध्यक्ष सुबास मुरारका, नेपाल मारवाडी मञ्च शनिश्चरेका अध्यक्ष रमेश मन्त्री, कनकाई आदर्श मारवाडी सेवा समिति सुरुङ्गाका अध्यक्ष दयानन्द अग्रवालको हस्ताक्षर रहेको छ ।

Comments