२ पौष, दमक।
कास्की जिल्लाका रक्तदाता अभियानकर्मी तीर्थराज अवस्थी र अजय कोइरालाले ४४ दिनमा मेचीदेखि महाकाली सम्मको साइकलयात्रा पूरा गरेका छन् । गत कार्तिक १७ गते काठमाण्डौंदेखि सुरु भएको युवाद्वयको साइकल यात्रा आज झापाको मेची पुलमा पुगेर समापन भएको हो ।
'आफ्नो १८ औं जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं', भन्ने मूल नाराका साथै रगतको बारेमा यूवाहरुलाई जागरण गराउने उद्देश्यले नेपाल स्वयंसेवी रक्तदाता समाजको लोगो अंकित झण्डा र नेपालको राष्ट्रिय झण्डाका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष अवस्थी र कोषाध्यक्ष कोइरालाले मेचीमहाकली यात्रा पूरा गरेका हुन्।
साइकल यात्रीद्वयलाई दमकको गणतन्त्र चोकमा नेपाल स्वयंसेवी रक्तदाता समाज झापाका अध्यक्ष सिताराम खतिवडा, उपाध्यक्ष गंगा चापागाई, सचिव रामकुमार चाम्लिङ्ग राई लगायतले सम्मान गरेका थिए।
त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका- ७ स्थित दूधे चोकमा ४३ पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाज झापाका कोषाध्यक्ष छविलाल दवाडीले फूलमालासहित खादा ओढाएर सम्मान गरेका थिए ।
यात्रीद्वयले मेची खोलामा पुगेर आफ्नो यात्रा टुङ्गिएको घोषणा गरेका हुन् ।
तस्वीर - सायकलयात्रीद्वय आज दमकमा (विष्णु सुब्बा)

Comments
Post a Comment