सरसफाई गर्दै विद्यार्थीले अभिभावकलाई सचेत गराए







९ पौष, बिर्तामोड ।
झापाको बिर्तामोड-१ स्थित पूर्वाञ्चल एकेडेमी अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार समुदायमा सरसफाई गर्दै स्थानीय बासिन्दा तथा अभिभावकहरुलाई सरसफाईप्रति सचेत हुन अनुरोध गरेका छन् ।
विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी तथा शिक्षकको टोलीले विद्यालय परिसर, आसपासका सार्वजनिक सडक र गाउँटोलको सरसफाई गरेका हुन्। हातमा कुचो, फोहर संकलन गर्ने भाँडा लिएर सरसफाई कार्यमा निस्किएका ५० जना विद्यार्थीले स्थानीय बासिन्दालाई आफ्नो घर वरपर आफैं सफा गर्न आग्रह गरेका थिए ।


'आफ्नो गाउँ आफैं बनाऔं', 'वातावरणीय स्वच्छता कायम राखौं' जस्ता विभिन्न चेतनामूलक सन्देश लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीले सरसफाई गर्दा स्थानीय बासिन्दा र अभिभावकहरुले समेत सहयोग गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको सभापतित्व तथा शिक्षक अभिभावक संघका अध्यक्ष नन्दकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम भएको हो । विद्यालयका प्रिन्सिपल श्रीकृष्ण दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा मनकामना कलेजका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, अभिभावक संघका अध्यक्ष अधिकारीलगायतले विद्यार्थीले गर्ने सरसफाई र जनचेतना कार्यले समुदायमा सकारात्मक सन्देश दिने धारणा राखेका थिए ।





Comments