- इश्वर भट्टराई
• मंसीर २१ गते मोरङको बेलबारीमा हृदयविदारक घटना घट्यो । बेलबारी-२ का ताराजुन राईले आफ्ना दुई नाबालक छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरे ।
• मंसिर १४ गते मोरङकै केरौन-६ का ३४ वर्षीय छत्रबहादुर कटुवालको सम्पत्तिका लागि परिवारकै मिलेमतोमा विभत्स ढंगले हत्या भयो । मृतक कटुवालको शव गाउँलेले परालको कुन्युमा फेला पारेका थिए ।
• मंसीर १६ गते झापा कनकाई नगरपालिका-२ का रविन्द्र ठटालले पत्नी फूलमायाको खुकुरी प्रहार गरी हत्या गरे । पैसा नदिएको सामान्य निहुँमा आवेशमा आई हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकारे ।
• धर्मपुत्री बलात्कार गरेको आरोपमा नेपाल ट्रेड युनियन कांग्रेस मोरङका निवर्तमान अध्यक्ष गोपाल शर्मा पक्राउ परे । तीन बर्षदेखि आफ्नै घरमा बस्दै आएकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको पोल खुलेपछि अढाईइ महिनादेखि उनी फरारसमेत थिए ।
माथि उल्लेखित घटना केही प्रतिनिधि मात्र हुन्, जसले हाम्रो समाजको वर्तमान अवस्थालाई चित्रित गर्दछ । यस्ता घटनाले समाज अपराधतर्फ उन्मुख हुँदै गएको दर्शाउँछ । समाजमा क्रूर, अमानवीय, निर्दयी तथा भयंकर घटना श्रृंखलाबद्ध रूपमा घटिरहेका छन् ।
दैनिकजसो भइरहने हत्या, हिंसा, बलात्कार, कुटपिट, आंतक, चोरीडकैती, अपहरणलगायतका घटनाले समाज क्षतविक्षत बन्दै गइरहेको छ । यसले समाजमा के अब मानवीय संवेदना, भाइचारा, सदाचार, संस्कारिक व्यवहार हराउँदै गएको हो ? भन्ने प्रश्न उब्जाएको छ ।
हाम्रो समाज कति हिंस्रक र कति निर्दयी बन्दैछ, उल्लेखित घटनाबाट नै प्रष्ट छ । यहाँ बाबुआमाको सामान्य झगडाको निहुँमा छोराछोरीले मानसिक पीडाका साथै ज्यान नै गुमाउन बाध्य छन् । आमाबाबुबीचको घरझगडाका कारण छोराछोरीले घर छाडेर हिँड्ने, डिप्रेसनलगायत मानसिक रोगको शिकार, लागूऔषध दुर्व्यसनको कुलतमा फस्ने गरेका उदाहरण प्रशस्त छन् ।
बालबालिकाका लागि पारिवारिक वातावरण नै महत्वपूर्ण मानिन्छ । स्कुलमा प्रारम्भिक शिक्षा लिएपनि बालबालिकाले घरबाट नै नैतिक शिक्षा लिन्छन् । तर, सधैंजसोको घरायसी झगडाले बालबालिकामा नकारात्मक सोचको विकास हुँदै जाने गर्दछ । यो कुनै काल्पनिक नभइ समाजमा घटिरहेको यथार्थ हो । पछिल्लो पटक बेलबारी-२ मा घटेको घटनाका सन्दर्भमा जहाँ आमाबाबुका कारण अवोध बालबालिकाले ज्यान गुमाए । पत्नी अर्कैसँग हिडेको पीडा खप्न नसकेर ३५ वर्षीय ताराजुन राईले दुई नाबालक छोराछोरीको हत्या गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ताराजुनले तीन वर्षीया छोरी दीपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई हत्या गरेपछि आफू पनि झुण्डिएका थिए । सुन्दा पनि कति निर्दयी र कठोर बाबु, आफू त बाँच्न सकेनन् सकेनन् आखिरमा ती अबोध छोराछोरीको के दोष ?
यस्तै, पैसा नदिएको झोंकमा आवेशमा आएर झापा कनकाई नगरपालिका-२ का रविन्द्र ठटालले पत्नी फूलमायाको खुकुरी प्रहार गरी हत्या गरे । परिवारमा यस्ता निर्दयी तथा अकल्पनीय घटना आवेशमा आएर हुने गरेको समाजसेवी बताउँछन् । गरिबी, कमजोर आत्मविश्वास र चेतनाको अभावले व्यक्तिमा बिस्तारै आपराधिक मानसिकता बढ्दै जानुले यस्तो प्रकृतिको घटना घटेको उर्लाबारीका समाजसेवी महेन्द्रजंग तामाङ बताउँछन्।
उता मोरङकै केरौन-६ ओझा टोलका छत्रबहादुर कटुवालले सम्पत्तिको निहुँमा ज्यान गुमाए । सम्पत्तिका लागि श्रीमान् फेर्दै आएकी श्रीमती देउमायाले ५० हजारमा भाडाका व्यक्ति खोजेर हत्या गरेकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
पाँचौं श्रीमानका रूपमा छत्रबहादुरसँग विवाह गरेकी देउमायाले श्रीमानले वैदेशिक रोजगारीबाट पठाएको रकम सोचेअनुरूप उपभोग गर्न नपाएपछि रूष्ट बन्दै आएकी थिइन् । छत्रबहादुर ११ महिनाअघि मात्रै घर फर्किएका थिए । देउमायाले लामो समयदेखि दबाब दिएपनि छत्रबहादुरले आफ्नो नाममा रहेको सम्पत्ति नामसारी गरेका थिएनन् । सम्पत्तिमा आफूले अधिकार जमाउन नपाएको अनुभूति गरेकी देउमायाले दसैंअघिदेखि नै श्रीमान् हत्याको योजना बनाएकी हुन् ।
३८ वर्षीय छत्रबहादुरको मंसीर १३ गते शनिबार बेलुकी घरदेखि तीन किलोमिटरको फरकमा घरेलु हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मोरङ प्रहरीले गत सोमबार हत्याका मुख्य योजनाकारको रूपमा पत्नी देउमायासहित हत्यामा संलग्न बयरवन-७ का प्रकाश भनिने २७ वर्षीय जयबहादुर तिम्सिना, १९ वर्षीया झुमा नेपाल, ३० वर्षीया रीता तिम्सिना, बयरवन-८ की ५० वर्षीया विष्णुमाया पौडेल र झापा महेशपुर-१ का २० वर्षीय सुरज लिम्बूलाई पक्राउ गरेको छ । यस्तै, देउमायाकी दिदी विष्णुमाया हत्याको प्रमाण नष्ट गर्न खटिएकी, देउमायाकै अर्का श्रीमानतर्फकी छोरी झुमा हत्यारालाई पैसा बुझाउन खटिएको, देउमायाकी दिदी विष्णुमायाका ज्वाइँ जयबहादुर र सुरज हत्या गर्न खटिएका थिए । जयबहादुरकी श्रीमती रीता पनि प्रमाण नष्ट गर्न र हतियार लुकाउन खटिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
छत्रबहादुरकालागि उनकै सम्पत्ति काल बन्यो । सम्पत्तिको लोभमा घटेको यो घटनाले मानिस कति निच व्यवहार गर्न पनि तयार हुँदोरहेछ भन्ने दरिलो उदाहरण बनेको छ । यो घटनाबाट समाज अशंबन्डा र दाइजोजस्ता सामाजिक कुरीतिबाट मुक्त हुन नसकेको देखिन्छ । हाम्रो समाजमा अंश तथा दाइजोको निहुँमा हुने पारिवारिक झैझगडा, कुटपिट र हत्या नौलो छैनन् ।
मानिसका जीवनशैलीमा प्रतिस्पर्धा, आत्मसन्तुष्टिको कमी, बढ्दो बेरोजगारी समस्याका कारण यस्ता घटना दोहोरिदै गएको समाजसेवी तामाङ बताउँछन्। । उनी भन्छन्, 'सम्पत्तिको अभीष्ट पूरा गर्नकै लागि यस्ता घटना घटिरहेका छन् ।'
उता दण्डहीनताले पराकाष्ठा नाघेको हाम्रो समाजमा महिला हिंसा र ज्यादतीका घटना कहालीलाग्दो रूपमा छन् । महिलामाथि हुने बलात्कार, ज्यादती, बोक्सी, दाइजोजस्ता कुप्रथाको निहुँमा हत्या हुनुले हाम्रो समाजिक सभ्यतालाई नै उदाङ्गो पारिदिएको छ । यी र यस्ता घटनामा आफन्त र निकट मानिएकैको संलग्नता पाइएको छ । कतै बाबुबाट छोरीमाथि बलात्कार त कतै सामूहिक बलात्कारले समाजमा भयावह बनेको छ ।
मोरङको दर्वेसा ४ दौलतपुरमा आफ्नी १५ वर्षीय छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय रोहित विश्वकर्मा पक्राउ परे । धर्मपुत्री बलात्कार गरेको आरोपमा नेपाल ट्रेड युनियन कांग्रेस मोरङका निवर्तमान अध्यक्ष गोपाल शर्मा पक्राउ परे । मोरङकै बुधनगर ६ मा आफूले भनेजति दाइजो नल्याएको निहुँमा ३२ वर्षीय मिरादेवी शर्माले वषौंदेखि मानसिक तथा शारीरिक यातना भोग्दै आएकी थिइन् । १२ वर्षअघि विवाह गरेकी मीरादेवीको यातनाकै कारण कार्तिक १० गते मृत्यु भयो । उनको मृत्युपछि परिवारका आफ्न्तले घटना लुकाउन शवलाई भारतीय भूमिमा लगेर दाहसंस्कार गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको थियो ।
समाजसेवी तामाङका अनुसार अपराधमा महिला हिंसा बढी मात्रमा भेटिएका छन् । र, यो एउटा जटिल समस्याको रूपमा देखिएको छ । नेपालको आपराधिक क्रियाकलापमा महिला हिंसा बढ्नुमा समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारण नै प्रमुख रहेको उनको भनाइ छ । उनका अनुसार पितृसत्तात्मक सोचबाट गुज्रिरहेको समाजमा नैतिक शिक्षा, सोचाइमा परिवर्तन ल्याउनाले हिंसामा केही कमी ल्याउन सकिन्छ ।
यसरी समाजलाई हिंस्रकको बाटोतर्फ लाने यस्ता घटनाका प्रमुख कारक आपराधिक मानसिकता या त मानसिक विचलन नै हुन् । साथै फितलो कानूनी व्यवस्था, जनचेतनाको कमी पनि घटना दोहोरिनुका कारण हुन् । अपराधिक क्रियाकलाप बढ्नुमा सरकार तथा प्रहरीप्रशासनलाई मात्र दोष थुपार्न मिल्दैन । अपराध निरूत्साहित गर्नका लागि समाजका सबै पक्ष मिलेर लाग्नुपर्दछ । सरकार तथा प्रहरीको काम भनेको आपराधिक घटना हुनसक्ने वातावरण बन्न नदिने मात्र हो । तसर्थ अपराधतर्फ उन्मुख भइरहेको समाज सुधारका लागि अब ढिला नगरौं ।


Comments
Post a Comment