नेपालको मेडिकल रिपोर्ट फेल भएपछि साउदीमा एक नेपालीको विचल्ली



-रामकुमार परियार,
१३ पौष, यु.ए.ई.।
नेपालमा गरिएको स्वास्थ परीक्षण फेल भएपछि साउदी अरबमा एक नेपालीको विचल्ली भएको छ ।
काठमाडौ सिनामंगलस्थित साउण्ड लाइन्स मेनपावरबाट तीन महिनाअघि साउदी पुगेका गोर्खाका रामकुमार रिमालको कम्पनीद्वारा गराइएको मेडिकल टेस्टमा त्रुटी भेटिएपछि उनी विचल्लीमा परेका हुन् । साउदीको जेद्दाहास्थित एक खाद्यान्न कम्पनीमा कामका लागि आएको ४ दिनमै स्वास्थ परीक्षण गर्दा पिसाबमा अत्याधिक रगतको मात्रा र पत्थरी समेत पाइएको थियो । डाक्टरले केही औषधि शिफारिस गरेता पनि औषधिले काम नगरेपछि उनको अवस्था दयनीय बन्दै गएको छ ।


स्वास्थ अवस्था नराम्ररी बिग्रेपछि रिमाल दुई महिनादेखि साथीहरूको सहारामा बस्दै आएका छ्न् । साउदी आउनुअघि काठमाण्डौको नयाँ बानेश्वरस्थित एक स्वास्थ संस्थामा स्वास्थ परीक्षण गरिएको तर आफुलाई उक्त स्वास्थ संस्थाको बारेमा केही जानकारी नरहेको रिमालले बताए । मेनपावरको एजेन्टले आफैं त्यहाँ लगेर मेडिकल टेस्ट गरेको र रिपोर्टसमेत हेर्न नदिएको उनले सुनाए । डाक्टरले दिएको औषधि सेवन गर्दै जसोतसो १० दिनसम्म उनले कम्पनीमा ड्युटी गरेको र त्यसपछि गर्न नसक्ने अवस्थामा थलिएका छ्न् । बस्न कम्पनीले उपलब्ध गराएको कोठा भए पनि खानका लागि अरुको भर पर्नुपरेको उनको दुखेसो छ । उनी दुई महिनादेखि साथीहरूको आडमा बस्दै आएका छ्न् ।
कम्पनीलाई घर फर्किन्छु भन्दासमेत कम्पनीले १२००० रियल नतिरी जान नदिने बताउँदै आएको रिमालले फोनमार्फत बताए । अन्यथा प्रहरी कहाँ बुझाइदिने धम्की दिएको उनले बताए । मेनपावरलाई यस विसयमा जानकारी गराउँदा समेत "हामी पैसा तिरेर ल्याउन सक्दैनौं, जे गर्नु छ गर" भनेर टारेको उनी बताउँछन् । त्यसयता आफुले मेनपावार कम्पनीमा कैयनपटक सम्पर्क गर्दासमेत वास्ता नगरेको उनले गुनासो पोखे ।



उनलाई साउदी पठाउन मुख्य एजेन्टको भूमिका खेल्ने काठमाडौ नयाँ बसपार्कस्थित पर्वत शालीग्राम गेस्ट हाउसका संचालक प्रेम सोनीले समेत फोन रिसिभ गर्नै छाडेको रिमाल बताउँछन् । फ्री भिसा, फ्री टिकट भएपनि सोनीले आफुसित ६० हजार नेपाली रुपैयाँ लिएर साउदी पठाएको, मेडिकलमा खराबी हुँदाहुँदै स्वास्थ्य संस्था सँगको मिलेमतोमा आफुलाई फसाएको रिमालको आरोप छ ।
स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछस सहयोग र उद्दारका लागि नेपाली राजदुतावासमा सम्पर्क गर्दासमेत दूतावासले वास्ता नगरेको उनले गुनासो गरेका छ्न्। पारिवारिक आर्थिक अवस्थासमेत अत्यन्तै नाजुक रहेकाले काठमाडौसम्म आएर मेनपावरलाई कुरा गर्न नसकेको उनले बताए । आफुलाई यथासक्य छिटो घर फर्किने वातावरण बने स्वदेश गएर आयुर्वेदिक उपचार गरेमा बाँच्ने आशा रहेको उनले बताए । उनले देश-विदेश मा रहने सम्पुर्ण जनहितकारी संघ संस्था, व्यक्ति तथा संचारकर्मीसमक्ष आफ्नो सकुशल उद्दारको निम्ति पहल गरिदिन आग्रह गरेका छ्न् ।



Comments