घाइते भुटानी शरणार्थी खतरामुक्त






१३ पौष, दमक।
भारतको आसाम कोक्राझारमा उग्रवादी संगठन एनडीएफबीको ग्रिनेड प्रहारबाट घाइते घाइते दुई भुटानी शरणार्थी खतरामुक्त रहेका छन् । उपचारपछि उनीहरु खतरामुक्त रहेको आसामबाट बोडोल्याण्ड टेरिटोरियल काउन्सीलका पूर्व सदस्य माधव कार्कीले बताए ।
आइतबार मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका भुमनबहादुर राई र उनकी पत्नी छत्रमाया राई ग्रिनेड आक्रमणबाट गम्भीर घाइते भएका थिए । कार्कीले उनीहरुको अनुहारमा गम्भीर चोट लागेको बताए । गुवाहाटीस्थित गुवाहाटी मेडिकल कलेजमा उपचारपछि छत्रमायालाई अस्पतालले डिस्चार्ज दिइसकेको छ ।





'ग्रिनेड प्रहार भएपछि उनीहरुलाई उद्धार गर्न म पनि पुगेको थिएँ', कार्कीले भने, 'उनीहरुलाई हामीले उद्धार गरेर अस्पताल पुर्‍यायौं । भुमनबहादुरको अनुहारमा गम्भीर चोट लागेको छ ।'
कार्कीले भुमनबहादुरको अहिले पनि गुवाहाटी मेडिकल कलेजमा उपचार भइरहेको बताए । राई दम्पति आफन्त भेट्न आसाम सरलपाडाको मुडे पुगेर फर्कन रात्री बस कुरिरहेका बेला एनडीएफबीका कार्यकर्ताले ग्रीनेड प्रहार गरेको कार्की बताए ।

उक्त घटनामा होटल सञ्चालक राधा क्षेत्री पनि घाइते भएकी थिइन् । अहिले उक्त स्थान सुरक्षाकर्मीको निगरानीमा रहेको बताइएको छ । त्यहाँका आदिबासी इलाका भित्र बसोबास गर्ने नेपाली भाषीहरु वरपर आफन्तकहाँ शरण लिएर बसेको कार्कीले बताए ।



Comments