स्कूल स्कूलमा कखरा




९ पौष, बेलडाँगी।
दण्डरहित शिक्षामा जोड दिएर निर्माण गरिएको कखरा डकुमेन्ट्रीलाई विद्यालय विद्यालयमा प्रदर्शन गर्न थालिएको छ । दण्डहीन शिक्षा आजको आवश्यकता भन्ने मुल सन्देश बोकेको कखरालाई विद्यार्थी, शिक्षक र अभिभावकहरुले औधी मन पराएका छन् ।
पछिल्लो समय संचारकर्मीहरुको एक समूहले निर्माण गरेको डकुमेन्ट्री कखरा हेर्न विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकहरुसमेत आकर्षित भएका हुन् ।
गएको शुक्रबारदेखि पूर्व क्षेत्र झापाको दमक वडा नं. ३ को सरस्वती निमाविबाट प्रदर्शन कार्य शुरु गरिएको फिल्म निमार्ता विनोद लामाले बताए। पहिलो शोमा अभिभावक, शिक्षक, विद्यार्थी गरी ३ सयको हाराहारीमा विद्यालयमा सहभागी रहेका थिए । शनिबार साँझ दमक वडा नं. ५ को चुलाचुली निमाविमा ५ सय विद्यार्थी, शिक्षक र अभिभावकले फिल्म हेरेर राम्रो र सन्देश मुलक भएको टिप्पणी गरेका थिए ।
फिल्म प्रदर्शन भएका विद्यालयमा दण्डहीन शिक्षा कार्यन्वयन गर्न हस्ताक्षर अभियान समेत अगाडि बढाइएको निर्देशक तथा संचारकर्मी डिकेश लामाले बताएका छन् । लामाका अनुसार फिल्म हेर्नेहरुमा राम्रो प्रभाव परेकोले दण्डहीन शिक्षा अभियानमा सहयोग पुग्नेछ ।



यसैबीच मंगलबार दमक वडा नं. ६ को ढुकुरपानी उमावि र अक्सफोर्ड अंग्रेजी माविका विद्यार्थीलाई कखरा प्रदर्शन गरिएको छ । प्रदर्शनपछि ढुकुरपानी माविका प्रअ लिलानाथ खनाल र अक्सफोर्ड स्कूलका प्रिन्सिपल डिल्लि चापागाईंले कखराको सन्देश सवै विद्यालयमा पुर्‍याउनु पर्ने बताएका छन् । डकुमेन्ट्री हेरेर धेरै विद्यार्थीहरुका आँखा रसाएका छन् । उनीहरुले फिल्म हेरेपछि अभिभावक र शिक्षकले आफूहरुले लार्पाहीवाही गरे दुर्घटना हुने भएकोले आफूहरु सचेत हुनु पर्ने बताए ।
आगामी शुक्रबार हिमालय उमाविमा कखरा प्रदर्शन हुने तयारी भएको अभियान टोलीले जानकारी दिएको छ । दण्डहीन शिक्षाको सन्देश बोकेको कखरालाई देशभर रहेका ३४ हजार हाराहारीका विद्यालयमा प्रदर्शन गर्ने अभियानमा जुटेको निर्माण टोलीले जानकारी दिएको छ । कखरा देशभरका ६४ लाख विद्यार्थी, २ लाख २८ हजार हाराहारीका शिक्षक, शिक्षिका र उनीहरुको अभिभावकलाई देखाउनु पर्ने बताइएको छ ।




Comments