नेपाल नर्क (लघु कथा)




- विदुर दर्नाल
एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्‍यो, एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो "नर्कमा पाल्नुहुने सबै मनुष्य जातिलाई जुनसुकै देशको नर्कमा प्रवेश गर्न छुट दिईएको छ।" एकछिन छेवैको प्रतिक्षालय मा बस्यो अनि 'कुन देशको नर्कालयमा प्रवेश गरौं त' भन्ने सोचमा डुब्यो । अन्त्यमा उसले अमेरिकाको नर्कमा जाने सोच बनायो अनि सिधै अमेरिकाको नर्कतिर लाग्यो ।


जब उ अमेरिकी नर्कको बडेमानको गेटमा पुग्यो त्यहाँ एउटा जिउभरि काँडेदार टाटु भएको अनि हातमा विद्युतीय लाठी बोकेको पहरेदारलाई भेट्यो । पहरेदार अमेरिकी नै भएकाले उसले टुट-फुट अंग्रेजीमा भित्रको नर्कको बारेमा सोध्यो, "सर कृपया मलाई अमेरिकी नर्कको सजायको बारेमा बताइदिनु हुन्छ कि?" जब उसले उत्तर पायो उसको मनमा एउटा भयानक प्रलय नै गयो । पहरेदारले जवाफ यसरी दियो "खासै त्यस्तो नयाँ प्रविधि त छैन, सबैभन्दा पहिला तपाईलाई स्नान गराइन्छ त्यसपछि इलेक्ट्रिक चेयरमा एक घण्टा राखेर करेन्ट दिइन्छ, अनि लगत्तै तातो रोडा बालुवामा सुताइन्छ । करिब १ घण्टापछि एउटा दैत्य आएर पीठमा पचास कोर्रा बर्साउँछ ।" यति सुनेपछि उसलाई त्यहाँ प्रवेश गर्नु उचित लागेन । त्यत्रो सजाए थाम्ने आँट उसले गर्न सकेन र तत्काल त्यहाँबाट निस्किएर रुसको नर्कतिर हान्नियो । रुसको पहरेदारसँग पनि सोही जानकारी खोज्यो । अफसोस, रुसी पहरेदारले पनि लगभग त्यस्तै सजाएको बारेमा जानकारी दियो, जुन पहिले अमेरिकी पहरेदारले उसलाई सुनाएको थियो ।


यसरी नै उ सबै देशको नर्कको गेट अगाडी पुग्यो । तर कुनै देशको नर्कमा पनि उसले सजायमा छुट पाएन । अन्त्यमा उसको यात्रा यस्तो नर्कालयको गेट अगाडी रोकियो जुन गेटको माथि ठुलो अक्षरमा लेखिएको थियो "नेपाली नर्कालयमा यहाँलाइ स्वागत छ।" गेटको अगाडी नेपाली नर्कमा जानेहरुको लामो लाइन थियो । अनि पहरेदारले एक-एक गर्दै मानिसहरू लाई गेटबाट भित्र पठाउँदै थियो । मानिसहरू नर्कमा जान तँछाडमछाड गरिरहेका देखिन्थे । नेपालको नर्कमा जाने यस्तो भिड देखेपछि उसलाई लाग्यो यहाँ पक्कैपनि सजाय कम होला । त्यसैले यहाँ धेरै भिड छ। यहि सोचले उ तत्काल सिधै पहरेदारलाई यहाको सजायको बारेमा सोध्यो पहरेदारको जवाफ त्यस्तै नै आयो जुन पहिले अरु राष्ट्रका पहरेदारहरुले उसलाई सुनाएका थिए । "सबैभन्दा पहिला तपाइलाई स्नान गराइन्छ त्यसपछि इलेक्ट्रिक चेयरमा एक घण्टा राखेर करेन्ट दिइन्छ अनि लगत्तै तातो रोडा बालुवामा सुताइन्छ । करिब १ घण्टा पछि एउटा दैत्य आएर पीठमा पचास कोर्रा बर्साउछ।" उ थकित भयो तर सवाल गर्न छाडेन । "यो सजाय त सबै देशको नर्कमा छ नि ! तरपनि किन यहाँ चाहिँ यस्तो भिड ? " उस्ले प्रश्न तेर्स्यायो । अनि पहरेदारको जवाफ चाँही यस्तो थियो, "हामीसँग इलेक्ट्रिक चेयर त्यस्तै छ । जुन अरु देशको नर्कमा पनि प्रयोग हुन्छ तर यहाँ लोडसेडिङ्गको कारणले बिना इलेक्ट्रिक चेयरमा बसाइन्छ । करेन्ट चाही लोडसेडिङ्ग घटेपछि लगाइने भनि औंठा छाप गराइन्छ। कोर्रा हान्ने दैत्य सरकारी कर्मचारी भएकोले आउँछ दस्तखत गर्छ, चिया नास्ता गर्न जान्छ अनि फर्किंदैन । यदि गल्तीले फर्किहाल्यो भनेपनि एक, दुई कोर्रा हान्छ अनि खातामा पचास कोर्रा लेखेर जान्छ.......!!!"

होक्लाबारी, मोरङ (हाल मलेसिया)

Comments