जामुनखाडीमा झोलुङ्गे पुल र मृगस्थलीको उद्घाटन




गौरव पोखरेल,
२७ मंसीर, सुरूङ्गा ।
पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित जामुनखाडी सिमसार क्षेत्रमा एक भव्य समारोहका बीच झोलुङ्गे पुल तथा मृगस्थलीको उद्घाटन गरिएको छ । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, छिमेकी सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु र हजारौं वन समूहका उपभोक्ताहरुका बीच मृगस्थली र झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।
प्रमुख अतिथि रहेका पर्ूवाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाका प्रमुख अन्नपूर्ण दासले ब्यानर अनावरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए भने मृगस्थलीमा मृगशावक छोडी मृगस्थलीको शुभारम्भ गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दासले आन्तरिक पर्यटन प्रबर्द्धनका लागि जनस्तरबाट गरिएको प्रयत्नको प्रशंसा गर्दै जामुनखाडी पर्यटकीय तथा सिमसार क्षेत्रको विकासका लागि राज्य पक्षबाट सहयोग पुर्‍याउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।




कार्यक्रमका सभापति जामुनावारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी पर्यटकीय तथा सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले जामुनखाडीलाई ताल तथा सिमसार क्षेत्रको रुपमा विकास गरी पर्यापर्यटनको विकास गर्ने, जैविक विविधताको संरक्षण गर्ने र असुरक्षित वन्यजन्तुहरुको लागि सुरक्षित वासस्थान निर्माण गरी व्यवस्थित गर्ने उद्देश्यका साथ सामुदायिक वन लागि रहेको बताए ।
२३ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएपछि पर्यटकहरुको संख्यामा वृद्धि भएको र २०७५ सालसम्ममा दैनिक १ हजार आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याई दैनिक ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष गिरीले जानकारी दिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारी, जिल्ला न्यायाधिवक्ता रमेशकुमार सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य संगिता थापा लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।



कनकाई वन समूहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, सुकेडाँगी सामुदायिक वन समुहका अध्यक्ष गंगाप्रसाद ढुंगेल, दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाका उपाध्यक्ष दिक्पाल लिम्बू, सताक्षीधाम पर्यटन क्षेत्रका अध्यक्ष प्रसाद सुब्बा, कनकाई उच्च माविका प्राचार्य इश्वरीप्रसाद शिवकोटी, नेपाली कांग्रेस कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, नेकपा एमाले नगर अध्यक्ष कोमलप्रसाद पन्त, एकीकृत माओवादीका नगर संयोजक महेन्द्र भट्टराई, राप्रपा नेपाल नगर अध्यक्ष खेमराज कार्की, सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष युवराज संग्रौला, सुरुङ्गा जेसिज वर्ष२०१४ का अध्यक्ष शिवकुमार कँडेल, समाजसेवी राजेन्द्र पोखरेल लगायतको आतिथ्य रहेको कार्यक्रममा स्थानीय महिला समुह तथा क्लबहरुले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सञ्चालन स्थानीय सञ्चारकर्मी मोहन नेम्बाङ्ले गरेका थिए ।

फोटो क्याप्सन
१. उद्घाटनपछि पुलमा हिड्दै यात्रुहरु ।
२. मृगस्थलीको उद्घाटन गर्दै प्रमुख अतिथि दास ।


Comments