माघ ८ मै संविधान आउँछ - झापाली सभासद्




विर्तामोड।
संविधान जारी गर्ने समय सीमा ठीक एक महिना बाँकी रहँदा झापावाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले अधिकतम् बहुमतको आधारमा माघ ८ मै संविधान जारी हुने बताएका छन् ।
अधिकतम् प्रयत्न गर्दापनि सहमति नबने प्रक्रिया छोट्याएर भएपनि माघ ८मा संविधान जारी हुने झापाका सभासद्हरुले ठोकुवा गरेका छन् ।
संवाद समूहको सचिवालयको संयोजनमा हिजो सोमवार झापाको बिर्तामोडमा 'संविधान निर्माणः माघ ८को समय सीमा, सहमतीय/बहुमतीय र पहिचानका मुद्दा' विषयमा झापाका सभासद्हरुबीच भएको छलफलमा सभासद्हरुले माघ ८ मै जसरी भएपनि संविधान आउने ग्यारेन्टी गरेका हुन् ।



छलफलमा सहभागी झापाका आठ जना सभासद्ले जातीय आधारमा भने राज्यको विभाजन नहुने प्रष्ट पारे । उनीहरुले बहुपहिचानको आधारमा राज्य निर्माण हुने बताउँदै मुलुक र मुलुकवासीको अस्तित्व र अधिकार रक्षाका लागि दलीय स्वार्थ छाडेर अधिकतम् लचकताका साथ सहमतीय संविधान जारी गर्ने प्रयत्नमा अग्रसर हुन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
सभासद्हरु नेकपा एमालेका रवीन कोइराला, नेपाली कांग्रेसका अमृतलाल राजवंशी, राप्रपा नेपालका भक्त खपाङ्गी, नेपाल परिवार दलकी मिलनकुमारी राजवंशी, एमालेकै सभासदहरु दीपक कार्की, प्रेम गिरी, मनकुमार गौतम र हरि राजवंशीले माघ ८ मा संविधान आउने विषयमा ढुक्क हुन नागरिकलाई आग्रह गरेका छन् ।
एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवम् सभासद् रवीन कोइरालाले माघ ८ को मिति सार्दा संविधान आउन सक्ने ग्यारेन्टी नभएकोले निर्धारित मितिमै अधिकतम् बहुमतको आधारमा संविधान आउने बताए । राजनीतिक दलहरुको अहिलेको अवस्था हेर्दा सहमति र सर्वसम्मत रुपमा संविधान आउने अवस्था नरहेको बताउँदै कोइरालाले विगतका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने, मुलुकमा व्याप्त असमानता र गरिबी अन्त्य गर्ने खालको संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
एमाले झापाका कार्यवहाक अध्यक्ष एवम् सभासद् दीपक कार्कीले केही अप्ठ्यारा सृजना हुँदै गएको, एमाओवादी लगायतका दल बाधक बनिरहेको भएपनि माघ ८मा संविधान जारी हुने बताए । कांग्रेस र एमाले संविधान जारी गर्न लचिलो भएको बताउँदै साझा पहिचानसहितको संविधान जारी हुने कार्कीले बताए । उनले दुईतिहाईभन्दा बढी सम्मानजनक बहुमतबाट संविधान जारी हुने स्पष्ट पार्दै जनताको म्याण्डेट जातीय राज्यविरुद्ध रहेकोले साझा पहिचानको संघीयता सहितको संविधान आउँछ भने ।
नेपाली कांग्रेसका सभासद् अमृतलाल राजवंशीले माघ ८को समय सीमालाई लक्षित गरी संविधानसभा र मुख्य दलहरु निष्कर्षतर्फअघि बढेको बताउँदै सहमतिबाट सम्भव नभए बहुमतीय प्रक्रियाबाट भएपनि माघ ८ मै संविधान जारी हुने बताए । मुलुक र मुलुकवासीको भविष्यका लागि आन्दोलन र मोर्चाबन्दी छोडेर लचकताका साथ आम नेपाली जनताको भावना समेटिएको संविधान जारी गर्न सहमतिमा आउन दलहरुलाई राजवंशीले आग्रह समेत गरे । अबको संविधानबाट आम जनताले विभेदको अन्त्य भएको महशुस गर्न सक्नुपर्ने र विभेद अन्त्य गर्ने संविधान निर्माणमा सबैले योगदान पुर्‍याउनु पर्ने बताए । संविधान अपरिवर्तनीय नहुने बताउँदै उनले समय परिस्थिति अनुसार संशोधन र परिवर्तन गर्दै जान सकिने र नेपालीको पहिचान र अस्तित्व समेटिएको संघीय राज्य बन्नुपर्नेमा जोड दिए ।


नेपाल परिवार दलकी नेता एवम् सभासद् मिलनकुमारी राजवंशीले अघिल्लो संविधानसभाका उपलब्धिको स्वामित्व ग्रहण, अन्तरिम संविधान लगायतका आधारमा समयमै संविधान जारी हुने बताउँदै दलहरुलाई लचक बन्न र स्वार्थभन्दामाथि उठ्न आग्रह गरिन् । उनले सबै जाति, भाषी, धर्मी, क्षेत्र र समुदायको पहिचान खुल्ने गरी संघीय राज्य निर्माण हुनुपर्नेमा जोड दिइन् ।
राप्रपा नेपालका सभासद् भक्त खपाङ्गीले संविधान जन्माउन मुलुक प्रश्रव पीडामा रहेको बताउँदै जस्तोसुकै आकारको भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिए । तर, माघ ८मा भने संविधान जारी हुने सम्भावना नरहेको र त्यस कुरामा विश्वास गर्न सक्ने आधार नभएको उनको भनाई थियो । बहुमतीय आधारमा संविधान जारी भए मुलुकमा द्वन्द्व सृजना हुने बताउँदै खपाङ्गीले सबै नेपालीको साझा पहिचानको आधारमा संविधान आउनुपर्नेमा जोड दिए । उनले अधिकतम् सहमतिकै लागि प्रयत्न गर्न दलहरुलाई सुझाव समेत दिएका छन् ।
नेकपा एमालेका सभासद् प्रेम गिरीले यथेष्ट सहमतिका आधारमा माघ ८ मै संविधान जारी हुने बताउँदै नरम र परिवर्तनशील संविधान बनाउनुपर्नेमा जोड दिए । एमाले जनमत संग्रहमा नजाने प्रष्ट पार्दै गिरीले राजतन्त्र र धर्मको कुरा उठाएर राप्रपा नेपालले हिंसा भड्काउने षड्यन्त्र गरेको आरोप लगाए । एकीकृत माओवादीका नेता प्रचण्डले पहिले दम्भ पालेका कारण संविधान नबनेको र अहिले कुण्ठा पालेका कारण मोर्चा बनाएर संविधान निर्माणमा बाधा सृजना गर्ने काम गरिरहेको बताउँदै सभासद् गिरीले राष्ट्रिय हित र सबै नागरिक एवम् राजनीतिक दलको अस्तित्वकालागि समयमै संविधान जारी गर्नुको विकल्प नरहेको बताए । गिरीले तराई मधेश, महिला, भौलिक रुपमा पछाडि परेका, आदिवासी जनजाति र गरीबको अधिकार सुनिश्चित गरिएको संविधान जारी गर्नुपर्नेमा समेत जोड दिए ।


एमालेका अर्का सभासद् मनकुमार गौतमले माघ ८मा संविधान जारी गर्ने कार्य कसैले रोक्न नसक्ने बताउँदै बहुमतीय आधारमा संविधान आउने प्रष्ट पारे । आम नेपाली जातीय राज्यको विपक्षमा रहेको तर्क राख्दै उनले एमाओवादी लगायत केही दल माघ ८को समय सीमा सार्ने र संविधानलाई टार्ने षड्यन्त्रमा लागेको बताए । माघ ८मा संविधान जारी गर्नु राजनीतिक दल र सभासद्हरुको प्रतिष्ठाको विषय भएको हुँदा त्यो प्रतिष्ठा गुम्न नदिने दावी गर्दै गौतमले जस्तोसुकै बाधा आएपनि हटाएर संविधान जारी गरेरै छाड्ने बताए । सर्वसम्मत र सहमतिको संविधान विश्वको कुनैपनि मुलुकमा नरहेको उल्लेख गर्दै गौतमले विश्वमा कहीं नभएको 'सहमतीय संविधान' भनेर जनतालाई भ्रममा पार्ने काम भएको बताए ।
एमालेकै सभासद् हरि राजवंशीले संघीयता र गणतन्त्रको एजेन्डाबाट दलहरु पछि फर्कन सक्ने अवस्था नरहेको र पूर्ण सहमति पनि बन्न नसकेको अहिलेको अवस्थामा दुईतिहाई भन्दा बढी बहुमतबाट संविधान जारी हुने बताए । उनले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने कामसमेत अघि बढेको संकेत गरे । राजवंशीले संघीय राज्य निर्माण गर्दा पहिचानसहितको हुनुपर्ने तर पहिचान एकल नभई बहु हुनुपर्नेमा जोड दिए ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।



Comments