सञ्जालको क्षेत्रीय सदस्यमा गौरव निर्वाचित




८ पौष, सुरुङ्गा।
पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालको सदस्यमा कनकाई उच्च मावि सुरुङ्गाका विद्यार्थी एवम् जिल्ला बाल क्लब सञ्जाल झापाका अध्यक्ष गौरव पोखरेल निर्वाचित भएका छन् । सोमबार बिराटनगरमा क्षेत्रीय बाल क्लब नेटवर्क गठनका लागि आयोजित बाल क्लब भेलाबाट उनी सदस्यमा निर्वाचित भएका हुन् ।
झापाबाट क्षेत्रीय बाल क्लब सञ्जालको सदस्यमा छनौट हुन सफल पोखरेलले विशेषतः सञ्चारको माध्यमबाट बालबालिकाहरुको विषयमाथि बहस र पैरवी गर्दै आएका छन् ।




बालबालिकाहरुको सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संगठन कन्सोर्टियम नेपालको आयोजनामा भएको क्षेत्रीय बाल क्लब भेलाले जिल्ला बाल क्लब सञ्जाल मोरङ्गको अध्यक्ष पुजन भण्डारीलाई पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा सप्तरीकी भावना पौडेल, सचिवमा पाँचथरकी ममता रिजाल, सह-सचिवमा सोलुखुम्बूका विष्णु श्रेष्ठ र कोषाध्यक्षमा सिराहाकी श्रुती सिंह रहेका छन् । त्यस्तै सदस्यहरुमा झापाबाट गौरव पोखरेल सहित पूर्वाञ्चलका अन्य विभिन्न जिल्लाका करुणा रसाइली, खेवाहाङ, सुरेश गुप्ता, लक्ष्मण चौहान, श्रेयाराज भण्डारी, निरज रेग्मी र यमप्रसाद पोखरेल रहेका छन् ।
पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जाल गठन गर्नका लागि कन्सोर्टियम नेपालकी केन्द्रीय सदस्य देवी रेग्मी, मानव अधिकार तथा वातावरण मञ्च (फरेन) का उपाध्यक्ष यज्ञप्रसाद शर्मा र मोरङ्गकी बाल अधिकार अधिकृत सुतिता ताम्राकार रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
आगामी दिनहरुमा पूर्वाञ्चल क्षेत्रीय बाल क्लब सञ्जालले बालबालिकाहरुको क्षेत्रीय आवाजलाई बुलन्द गर्दै केन्द्रीय नीति निर्माणको तहसम्म पुर्‍याउने समितिका सदस्य पोखरेलले जानकारी दिए ।



Comments