चिसोले पूर्वमा पाँच जनाको मृत्यु





१५ पौष, विराटनगर ।
शीतलहरसँगै बढेको चिसोका कारण पूर्वी तराईमा दुई साताको अवधिमा पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण मृत्यु हुनेको संख्या आज सम्ममा पाँच पुगेको हो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएर लगाउने पर्याप्त कपडा नहुँदा चिसोले मृत्यु हुनेको संख्या बढ्दै गएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी नवराज सिलवालले बताए। सिलवालका अनुसार मोरङमा तीन, सिरहा र सप्तरीमा एक एक जनाको मृत्यु भएको हो ।





पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार चिसोका कारण पुस ८ गते विराटनगर १० की ५० वर्षीय आशा ऋषिदेव र गत पुस ३ गते मोरङकै हसनदह ३ का ८३ वर्षीय नोहा सतारको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो । त्यस्तै मोरङको बवियाविर्ता ३ मा चिसोले कठ्याङग्रिएर १२ दिनअघि एक भारतीय नागरिकको मृत्यु भएको थियो । अत्यधिक मदिरा सेवन गरेका कारण हिंड्न नसकेको र रातको समयमा सडक किनारमै सुत्दा चिसोले कठ्याङग्रिएर भारतको अररियाका ६० वर्षीय नारायण तत्माको मृत्यु भएको हो ।
शीतलहरका कारण पुस ९ गते सप्तरीको बनौनिया २ का ७० वर्षीय चन्द्रेश्वर खङ र पुस १३ गते आइतबार सिरहाको इटहरुवा २ का ५० वर्षीय लखन पासवानको मृत्यु भएको छ ।





Comments