दमकको फोहोर मैलाको व्यवस्थापन शिखरकटेरीमा गरिने

-->

४ पौष, दमक।
झापाको दमक नगरको फोहोरमैलाको व्यवस्थापन अव दमकको उत्तरी क्षेत्र शिखरकटेरीमा गरिने भएको छ । ल्याण्डफिल साइटका लागि लामो समयदेखि अध्ययन गरिआएको नगरपालिकाले दमक-३ स्थित शिखरकटेरीमा जग्गा छनौट गरेको हो । हम्सेदुम्से सामुदायिक वनको करिव १ बिगाहा जमीन ल्याण्डफिलका लागि छनौट गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । दमक नगरको स्थायी ल्याण्डफिल नहुँदा नगरपालिकाले दमक-१२ स्थित सयपत्री टोल नजिकको रतुवा खोलामा फोहोर जम्मा गर्दै आएको थियो । अव्यवस्थित ल्याण्डफिलका कारण ती क्षेत्रका बासिन्दाहरुले सो टोलमा फोहोर जम्मा नगर्न आग्रह गर्दै आएका थिए । बर्षायाममा सो क्षेत्रका बासिन्दाहरुले फोहोरबाट निस्कने दुर्गन्धका कारण अनेकौं स्वास्थ्यसम्वन्धी समस्याहरु झेल्दै आएका स्थानीयहरुको गुनासो छ ।

-->
नगरपालिकाको कार्यालयका अनुसार फोहरको बर्गिकरण, जैविक मल उत्पादन, होटल, रेष्टुरेन्ट र अस्पतालका फोहर व्यवस्थापनका लागि इन्सिलेटर सहितको ल्याण्डफिल साइट निर्माण गरिने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगरको दीर्घकालिन फोहर व्यवस्थापनका लागि निर्माण हुने ल्याण्डफिलका लागि करिव ४ करोड रुपैयाँ लाग्ने र निर्माण प्रकृया यसै आर्थिक वर्षदेखि थालिने जानकारी दिए।
ल्याण्डफिलसँगै सो स्थानमा अध्ययनकर्ताहरुका लागि अनुसन्धान केन्द्र, बगैँचा निर्माण तथा रेष्टुरेन्टको व्यवस्था समेत गरिने उनले बताए। यसले नगरको फोहर व्यवस्थापन प्रकृयाले पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्‍याउने र अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्ने दाहालले बताए। जिल्ला वन कार्यालयले भने वनको जमिन उपयोगका बारेमा अध्ययन आवश्यक रहेको जनाएको छ ।
हाल दमक नगरपालिकाकाले शहरको १ हजार ५० हेक्टर क्षेत्रफलमा दैनिक सरसफाई गर्दै आएको छ । यस क्षेत्रबाट दैनिक १० टन फोहर उत्पादन हुने र नगरपालिकाले ८ टन संकलन गर्ने नगरपालिकाका वातावरण उपशाखा प्रमुख दोर्ण थापाले जानकारी दिए। उनले दमकको चोक, बजार र उत्तरी क्षेत्रमा पर्ने बेलडाँगीका बजारहरुमा दैनिक विभिन्न उपकरणहरुबाट फोहोरमैला संकलन गरिँदै आएको बताए। फोहोर संकलनका लागि ट्याक्टर, ट्रकका साधनसहित दर्जन बढी मजदुरहरुले दैनिक खटिआएका छन् ।



-->

Comments