पशुहाट धमाधम खाली गरिँदै






१४ पौष, दमक।
अतिक्रमणको चपेटामा परेको पूर्वकै प्रसिद्ध दमकको पशुहाट व्यवस्थित गरिन थालिएको छ । नगरपालिकाले बृहत पशुहाट सुधार आयोजना शुरु गरेसँगै यहाँको पशुहाटका घर, टहराहरु हटाउन थालिएको छ । सो स्थानमा डेढ दशक बढी समयदेखि बसोबास गर्दै आएकाहरु र नगरपालिकाबीच सहमति भएपछि पशुहाटको जमीन खाली गराउन थालिएको हो । पशुहाटको जमिनमा घरटहरा बनाइएका ६० घर,परिवारले आफ्नो घर, टहरा धमाधम हटाउन थालेका हुन् ।



नगरपालिकाले पशुहाटभित्र घरटहरा बनाएकाहरुलाई तीन वर्गमा विभाजन गरी त्यहाँबाट सर्न राहतसमेत दिएको छ ।

पशुहाट सुधार आयोजनाअन्तर्गत विभिन्न भौतिक संरचनासहित पसल कवलहरु समेत निर्माण गर्ने नगरपालिकाको योजना छ । ती पसल कवलहरुमा व्यवसाय सञ्चालनका लागि भने हाल त्यहाँबाट सारिएकाहरुलाई पहिलो प्राथमिकता दिनेसमेत नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

दमक नगरको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको पशुहाटको व्यवस्थापन र स्तरीकरणका लागि पशुहाट सुधार आयोजना सुरु भएको हो । १ वर्षमा काम सक्नेगरी कृषि मन्त्रालयको सहयोगमा नगरपालिकाले आयोजना सुरु गरेको जनाईएको छ । आयोजनाका लागि कृषि मन्त्रालयले १ करोड रुपैयाँ उपलब्ध गराउने नगरपालिका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए ।




Comments