कखराले तान्यो विद्यार्थी




६ पौष, बेलडाँगी।
शिक्षामा दण्ड हुनु हुँदैन भन्ने सन्देश बोकेको कखरा डकुमेन्ट्रीलाई विद्यार्थीले औधी मन पराएका छन् ।
पछिल्लो समय संचारकर्मीहरुको एक समूहले निर्माण गरेको डकुमेन्ट्री कखरा हेर्न विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकहरु आकर्षित भएका हुन् ।
शुक्रबारदेखि पूर्व क्षेत्र झापाको दमक वडा नं. ३ को सरस्वती निमावि र नेपाल आदर्श वोर्डिङ्ग स्कूलबाट प्रदर्शन कार्य शुरु गरिएको फिल्म निर्माता विनोद लामाले बताए । पहिलो प्रदर्शनमा अभिभावक, शिक्षक, विद्यार्थी गरी करीव ३ सयको हाराहारीमा विद्यालयमा सहभागी रहेका थिए । शनिबार साँझ दमक वडा नं. ५ को चुलाचुली निमाविमा ५ सय विद्यार्थी, शिक्षक र अभिभावकले फिल्म हेरेर राम्रो र सन्देशमुलक भएको टिप्पणी गरेका थिए ।



फिल्म प्रदर्शन भएका विद्यालयमा दण्डहीन शिक्षा कार्यान्वयन गर्न हस्ताक्षर अभियानसमेत अगाडि बढाइएको निर्देशक तथा संचारकर्मी डिकेश लामाले बताए। लामाका अनुसार फिल्म हेर्नेहरुमा राम्रो प्रभाव परेकोले दण्डहीन शिक्षा अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आगामी मंगलबार ढुकुरपानी र शुक्रबार हिमावि उच्च माविमा कखरा प्रदर्शन हुने तयारी भएको अभियान टोलीले जानकारी दिएको छ । दण्डहीन शिक्षाको सन्देश बोकेको कखरालाई देशभर रहेका ३४ हजार हाराहारीका विद्यालयमा प्रदर्शन गर्ने अभियानमा जुटेको निर्माण टोलीले जानकारी दिएको छ ।

Comments